२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

आम मतदाताले विवेकपूर्ण निर्णय गर्नुहुनेछ भन्नेमा विश्वस्त छु : सुशील गुरुङ

सोमवार , फाल्गुण १८, २०८२

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, १८ फागुन । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार सुशील गुरुङले आगामी फागुन २१ गतेको निर्वाचनमा आम मतदाताले विवेकपूर्ण निर्णय गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ । उहाँले अवसर र लाभका लागि अहिलेसम्म कुनै पनि पार्टी नचहारेको र बाँकी जीवन पनि काँग्रेसमै समर्पित गर्न चाहेको बताउनुभयो।

    काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ ले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै उम्मेदवार गुरुङले आफू काँग्रेसमा ३५ वर्षदेखि क्रियाशील रहेको बताउनुभयो ।
    ‘म क्षेत्र नम्बर ३ को स्थानीय, रैथाने र अर्गानिक उम्मेदवार हुँ । ‘यही जन्मे, यही हुर्के र बाँकी जीवन पनि मेरो यही क्षेत्रमा बित्नेछ, फागुन २१ गतेको निर्वाचनको परिणामपश्चात सुशील गुरुङ आम मतदाताको साथमा रहन्छ, ’उहाँले भन्नुभयो ।

    काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति समेत रहनुभएका युवा नेता गुरुङले यो क्षेत्रमा रहेर शिक्षा, स्वास्थ्य, सहकारी, रेडक्रस, ब्लड बैंक लगायतका विभिन्न संघ–संस्थामा काम गर्ने मौका पाएको बताउनुभयो । 

    निर्वाचनको परिणाम आफ्नो पक्षमा आए आफूले संगालेका अनुभव क्षेत्र र समाजको विकासमा लगाउने उहाँको भनाइ छ । आफू निर्वाचित भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, आईसीपी, सेज सञ्चालन, लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर (भैरहवा) मा पर्यटकको बसाई लम्ब्याउन पहल गर्ने र यसका लागि नीति निर्माणमा पनि भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । लुम्बिनी प्रदेशको महत्वपूर्ण गन्तव्य र निजी क्षेत्रको मनोबल बढाउन, उद्योगमैत्री नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

    ‘किसानले मलखाद, सिंचाई र उन्नत बिउबिजनको नपाउँदा समस्यामा परेका छन् । बिचौलियाका कारण किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन् । किसान र उपभोक्ताबीच प्रत्यक्ष रुपमा जोड्न नीति बनाउँछौं, ’ गुरुङले भन्नुभयो । रोजगारी सिर्जना गर्न उद्योग व्यवसायको विकासमा ध्यान दिने उहाँको भनाइ छ ।

    काँग्रेस लोकतन्त्रको पर्यायवाची, इतिहास बोकेको पुरानो पार्टी भएकोले विधिको शासनमा विश्वास गर्दै आएको उहाँको भनाइ छ । ‘हामी प्रेस स्वतन्त्रताको पक्षमा छौं । प्रेसलाई हाम्रो सम्मान छ, ’उहाँले भन्नुभयो ।

    काँग्रेसले आफ्नो सोच, दृष्टिकोण र विचार जनतामाझ स्पष्ट रुपमा राखिसकेको उहाँको भनाइ छ । विगतका प्रचारशैली परिर्तन गरेर संयमित रुपमा कसैलाई पनि गालीगलौज नगरी काँग्रेसले चुनावी प्रचारप्रसार अघि बढेको उहाँले बताउनुभयो । उहाँले आफूसहित देशैभर काँग्रेसका उम्मेदवारलाई मतदान गरी जिताउन समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सचिव एवं प्रवक्ता लेखनाथ भट्टराई, ३ (क) का सभापति सुरेन्द्र जंग थापा, सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्का लगायतले बोल्नुभएको थियो ।