२०८२, मंसिर ७ गते

Nov 23 2025 | २०८२, मंसिर ७ गते

साम्बा नहुनु मेसी र रोनाल्डोबिनाको टोली जस्तै हो नेपाल : प्रशिक्षक न्यौपाने

आइतवार , मंसिर ७, २०८२

  • 223
    Shares
  • 223
    Shares
  • काठमाडौं, ७ मंसिर । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक नवीन न्यौपानेले स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ को अनुपस्थिति लियोनल मेसीबिना अर्जेन्टिना र क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलजस्तै रहेको बताएका छन् ।

    नेपालले आगामी नोभेम्बर २६ देखि इन्डोनेसियामा तीन देश सम्मिलित त्रिदेशीय कप फुटबल प्रतियोगिता खेल्दैछ । उक्त त्रिदेशीय प्रतियोगितामा नेपाली टोलीमा स्टार स्ट्राइकर साबित्रा भण्डारी हुने छैनन् ।

    न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्स एफसी व्यावसायिक फुटबल खेलिरहेकी साम्बा चोटका कारण केही समय मैदान बाहिर नै रहनेछिन् ।

    चोटकै कारण उनी अन्तर्राष्ट्रिय जिम्मेवारी फर्कन पाइनन् । दुई दिन अगाडि मात्र उनीबिना नेपाली टोलीले इन्डोनेसिया र चाइनिज ताइपेइसँग खेल्ने तय भएको हो । तर, साम्बासँगै साबिता रानामगर पनि खेल्न सक्ने सम्भावना ५० प्रतिशत मात्र रहेको उनले उल्लेख   गरे । 

    उनीहरूको स्थानमा अवसर पाएका खेलाडीले आफूलाई प्रमाणित गर्नसके आगामी महिला साफ च्याम्पियनसिपको तयारीमा मद्दत पुग्ने प्रशिक्षक नवीन बताउँछन् । उनले अन्तर्राष्ट्रिय विन्डोलगत्तै घरेलु फुटबलमा खेलाडी व्यस्त रहेकाले म्याच फिटनेस रहेको उल्लेख गरे ।

    तयारी थोरै भएकाले पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई नै प्राथमितामा राखेर तयारी गरेको उनको भनाइ छ ।नेपाली टोलीको डिफेन्सलाई बलियो बनाउन धेरै मिहेनत गरेको प्रशिक्षक बताउँछन् । पछिल्ला गल्तीहरू सुधार गरिएको प्रशिक्षक नवीनको भनाइ छ ।

    आगामी खेलमा ती गल्ती नदोहोरिने उनको विश्वास छ । अर्को वर्ष एसियन कपको खेल्न तयारी स्वरूप चाइनिज ताइपेईले यो प्रतियोगिता खेल्दैछ । फिफा वरीयतामा नेपालभन्दा चाइनिज ताइपेई ४७औं स्थान माथिको टोली हो ।

    इन्डोनेसियाभन्दा नेपाल १७औं स्थान माथि छ । तर, इन्डोनियामा धेरै  विदेशीमा रहेर खेल्ने राम्रा खेलाडी रहेकाले सहज नहुने प्रशिक्षक नवीनको बुझाइ छ । उनीहरू फिजिकिल रूपमा पनि बलियो रहेको उनले उल्लेख छ । एसियन कप र विश्वकप खेल्ने लक्ष्य राखेको नेपाली महिला टोलीले धेरैभन्दा धेरै यस्ता बलियो टोलीसँग खेल्न आवश्यक रहेको उनी बताउँछन् । 

    नेपाली टोलीकी गोलकिपर एञ्जिला तुम्बापो लगातार प्रतियोगिता खेलेकाले खेलाडीहरू फिट रहेको र टोलीको मनोबल पनि बढेको बताउँछिन् । कहिले कहीँ खेलहरू तल माथि भएपनि पूराना पक्ष बिर्सेर अगाडि बढ्नुको विकल्प नरहेको उनी बताउँछिन् ।

    टोलीमा मनमाया दमाई, मीना देउवा र पूर्णिमा राईजस्ता मिहेनती युवा खेलाडीहरू जोडिएको उनले उल्लेख गरेकी छन् । उनीहरू नेपाली टोलीको भविष्य रहेको उनको विश्वास छ । लगातार मैत्रीपूर्ण खेलेकाले टोलीलाई राम्रो एक्सपोजर मिलेको र यो महिला टोलीका लागि सकारात्मक पक्ष रहेको एञ्जिला बताउँछिन् । नेपाली टोली आईतवार नै इण्डोनेसिया प्रस्थान गरेको छ । 

    अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव किरण राई र सिइओ इन्द्रमान तुलाधारले नेपाली टोलीको बिदाइ गरेका थिए । सो अवसरमा महासचिव किरण राईले नेपाली महिला टोलीमा स्थानका लागि धेरै प्रतिस्पर्धा हुन थालेको उल्लेख गर्दै यसको अर्थ महिला फुटबलमा राम्रो भइरहेको बताए । भारतसँगको खेलले सकारात्मक सन्देश दिएको उनी बताउँछन् ।

    उनले महिला फुटबल विकासमा राम्रो भइरहेको पनि उल्लेख गरे । एन्फाको रणनीति र कार्यक्रमले नेपाली महिला फुटबललाई माथि पु¥याउने प्रयास गरिरहेको एन्फाका महासचिव राईको भनाइ छ ।

    नेपालले आगामी नोभेम्बर २६ मा इन्डोनेसियासँग पहिलो खेल खेल्नेछ । त्यसपछि दोस्रो खेल नेपाली टोलीले आगामी डिसेम्बर २ मा चाइनिज ताइपेइसँग खेल्ने तालिका छ । नेपाली टोलीको तीन गोलकिपरमा उषा नाथ, एन्जिला तुम्बापो र अन्जना रानामगर छन् ।

    अन्य खेलाडीमा हीरा भुजेल, विमला विक, समीक्षा घिमिरे, सजनी थोकर, मनमाय दमाई, पूजा रानामगर, प्रतीक्षा चौधरी, निसा थोकर, रेनुका नगरकोटे, प्रीति राई, सरस्वती हमाल, दीपा शाही, सरु लिम्बू, सबिता रानामगर, अनिता बस्नेछ, मीना देउवा, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र पूर्णिमा राई छन् ।

    नेपाली टोलीको सहायक प्रशिक्षकमा भगवति थापा र गोलकिपर प्रशिक्षक राजकुमार केसी तथा टिम व्यवस्थापकमा एन्फाका प्रवक्ता सुरेश शाह छन् ।