आइतवार , मंसिर ७, २०८२
भैरहवा, ७ मंसिर । पर्यटन क्षेत्रको विकासकै माध्यमबाट मुलुकमा आर्थिक समृद्धि ल्याउन सकिने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले पर्यटनको विकास मुलुकको आर्थिक समृद्धिको आधार भएको बताएका हुन् । शनिबार लुम्बिनीमा आयोजित लुम्बिनी होटल संघ नेपालको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनको उद्घाटन समारोहमा वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले प्रकृतिले नै नेपाललाई पर्यटनको देश बनाएको उल्लेख गर्नुभयो । उहाँले पर्यटन क्षेत्रको विकासकै माध्यमबाट मुलुकमा आर्थिक समृद्धि ल्याउन सकिने बताउनुभयो । उहाँले सबै मिलेर पर्यटन क्षेत्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका आएका पर्यटकलाई ट्राफिक चेकिङको नाममा २ हजारको जरिवाना तिराउनु भन्दा २ लाख खर्च गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँल नेपाल भित्रिने पर्यटक कुन देशका हुन भनेर सोच्नुभन्दा पनि सत्कार र सम्मान गर्नुपर्ने बताउनुभयो । ‘नेपालमा भारतीय पर्यटक देख्नेबित्तिकै नकारात्मक रुपमा हेर्ने गरिएको छ, सकारात्मक दृष्टिकोण बनाउनुपर्छ, ’उहाँले भन्नुभयो । पर्यटकलाई जबरजस्ती रोक्न नसकिने भएकाले यसका लागि पर्यटनमैत्री वातावरण बनाउनुपर्ने उहाँको भनाइ छ ।
विकास क्रमिक रुपमा हुने भएकाले सबै बिग्रिएको छ भनेर आत्तिनुपर्ने अवस्था नरहेको मन्त्री पाण्डेयले बताउनुभयो । ‘हामी सबैले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्यौं भने परिवर्तन आउँछ, ’उहाँले भन्नुभयो–‘भगवान गौतमबुद्ध व्यक्ति होइन, विचार हुनुभयो ।’ रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अधिकार प्रदेश सरकारसँग नरहेकोले यसको नियमित सञ्चालनका लागि संघीय सरकारसँग पहल भइरहेको उहाँको भनाइ छ ।
त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.)ले लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा चिनाएर बढीभन्दा बढी पर्यटक भित्र्याउनुपर्ने बताउनुभयो । उहाँले भारतीय पर्यटकलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताउनुभयो । उहाँले पर्यटकलाई सम्मान गर्नुपर्ने बताउनुभयो । ‘पर्यटकलाई सत्कार र सम्मान गर्न सकियो भने एउटा पर्यटक आफ्नो देशमा पुगेपछि उनले थप २० जना नेपाल पठाउन सक्छन्, ’उहाँले भन्नुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यबाहक नगरप्रमुख कल्पना हरिजनले पर्यटकको बसाई लम्ब्याउनका लागि लुम्बिनीमा धार्मिक गतिविधि बढाउन नगरपालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले धार्मिक गतिविधि बढेसँगै लुम्बिनीमा पर्यटकको घुँइचो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसका क्याम्पस प्रमुख दयानिधि गौतमले विश्वविद्यालय र क्याम्पसले लुम्बिनी होटल संघसित निरन्तर सहकार्य गरेको बताउनुभयो । उहाँले लुम्बिनी आउने पर्यटकलाई यहाँको बारेमा राम्रोसँग व्याख्या गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन गम्भीर बहस आवश्यक रहेको बताउनुभयो । उहाँले लुम्बिनी विकास केवल स्थानीय सरकार र होटल संघको नभइ सबैको दायित्व रहेकोमा जोड दिनुभयो । उहाँले गुम्बा र बिहारमा नभइ पर्यटकलाई होटलमा राख्नुपर्ने बताउनुभयो ।
सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि वर्तमान सरकारसँग कुरा गरिने बताउनुभयो । उहाँले लुम्बिनी आफैमा महत्वपूर्ण स्थल भएको बताउनुभयो ।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि संघले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
संघका नवनिर्वाचित अध्यक्ष लीलामणि शर्माले पर्यटन क्षेत्रको विकासका लागि सम्पूर्ण टीम अगाडि बढ्ने बताउनुभयो । उहाँले लुम्बिनीका होटलका सेवालाई अझ गुणस्तरीय बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij