मंगलवार , मंसिर २, २०८२
पाल्पा, २ मंसिर । पाल्पाको तिनाउमा रहेका सामुदायिक वन उपभोक्ता समूहरुको छाता संगठन सामुदायिक वन समन्वय समिति, तिनाउ, पाल्पाले आफ्ना पूर्वअध्यक्षहरुसँग छलफल कार्यक्रम गरेको छ । संस्थागत विकास, विगत र वर्तमानका गतिविधिहरु एवं भविष्यको लक्ष्य तथा गोरेटो विषयमा मंगलबार दोभानमा कार्यक्रम गरिएको समितिले जनाएको छ ।
कार्यक्रममा पूर्वअध्यक्ष राजेश श्रेष्ठले वन, वातावरण र जैविक विविधता संरक्षणका लागि गहन भूमिका खेलेको समन्वय समितिले सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसँग निरन्तर हातेमालो गरी अघि बढ्नुपर्ने सुझाउनुभयो । उहाँले वर्तमान समयमा गैरसरकारी संस्थाहरुलाई सहयोग गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकायको अभाव हुँदै गएको समेत औंल्याउनुभयो । पूर्वअध्यक्ष दोलकराज कार्कीले स्थापनाकालमा बढो मिहिनेत गरी अघि बढाइएको समन्वय समितिको इतिहासलाई जोगाउनपर्नेमा जोड दिनुभयो । उहाँले बजेटबिहीन कार्यक्रम समेत गरी संस्थालाई जीवित राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वअध्यक्ष एवं वातावरणीय कानूनका जानकार अधिवक्ता महेन्द्रप्रसाद पाण्डेयले वन, वातावरण र जैविक विविधता संरक्षणका क्षेत्रमा नयाँनयाँ मुद्दाहरु आइरहेको बताउनुभयो । त्यसका समाधानका लागि नयाँ खोज, अध्ययन र प्रविधिको खाँचो हुने उहाँले बताउनुभयो । २०७४ देखि स्थानीय सरकारले गैरसरकारी संस्थाहरु विकासका साझेदार संस्था हुन् भन्ने कुरा बिर्सिएको बताउनुभयो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष पदमलाल शाक्यले सामुदायिक वन उपभोक्ता समूहहरु नै संस्थाको मूल स्रोत भएकाले उनीहरुलाई पनि साथ लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष दलबहादुर गुरुङले संस्थाले विगतदेखि वर्तमानसम्म वन, वातावरण र जैविक विविधता संरक्षणमा गर्दै आएका कामहरु र भविष्यको गन्तव्यका विषयमा प्रकाश पार्नुभयो । उहाँले संस्थाले वन उपभोक्ता समुहहरुको सुशासन र सशक्तिकरणका लागि खेल्दै आएको भूमिका र समुदायमा समन्वय समितिको महत्वका सन्दर्भमा पनि प्रकाश पार्नुभयो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष प्रेम पाण्डेयले सहभागी पूर्वअध्यक्षहरुलाई गहन विचारका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij