शुक्रवार , कार्तिक २१, २०८२
भैरहवा, २१ कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ बभनीस्थित श्री बभनी भूतपूर्व सैनिक आधारभूत विद्यालयमा ‘श्रीमद्भागवत धनधान्याचल विराट ज्ञान महायज्ञ–२०८२’ हुने भएको छ ।
बिहीबार विद्यालयमा आयोजित सल्लाह-सुझाव तथा तयारी बैठक (छलफल) कार्यक्रममामहायज्ञ आगामी मंसिर १५ देखि २३ गतेसम्म हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मूल समारोह समितिका अध्यक्ष रतन बहादुर भण्डारीले जानकारी दिनुभयो । विद्यालयको सर्वाङ्गीण विकास (दिगो स्थायीत्व, तहगत विकास र प्रगति तथा अंग्रेजी माध्यमबाट कक्षा ८ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
‘अब नामअनुसारको काम गर्नुपर्छ भनेर सैनिक विद्यालय राज्यले तोकेको पाठ्यक्रम अनुसार सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य छ, विद्यालयको पाँचवर्षे गुरुयोजना बनाएका छौं, गुरुयोजना सम्पन्न गर्नका लागि पाँच करोड रुपैयाँ लाग्छ, ’उहाँले भन्नुभयो । भूषण श्री चैतन्य कृष्णजी महाराजको मुखारविन्दबाट वैज्ञानिक विवेचनाका साथ संगीतमय भजन तथा प्रवचनसहित श्रीमद्भागवत हुने उहाँले जानकारी दिनुभयो ।
ईश्वरप्रतिको आस्था, विश्वास, श्रद्धा, समर्पण तथा भक्तिभावले महायज्ञमा संकलन हुने दान सहयोगबाट नै विद्यालयको विकासमा टेवा पुग्ने भएकोले सबैबाट सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।
विद्यालयको आर्थिक पाटो पनि महत्वपूर्ण कुरा भएकोले महायज्ञ सञ्चालन गर्न लागिएको विद्यालयका प्रधानाध्यापक तथा मूल समारोह समितिका महासचिव मनोज कुमार क्षेत्रीले बताउनुभयो ।
तिलोत्तमा नगरपालिका–१३ का वडाअध्यक्ष नारायण ढकालले सामूदायिक विद्यालय समूदायद्वारा सञ्चालित हुने भएकाले समुदायको सहयोग अपरिहार्य रहेको बताउनुभयो । ‘महायज्ञ अर्थ संकलनको एउटा आधार हो, यसले धर्म–संस्कृति संरक्षण गर्न पनि मद्दत गर्छ । यो महायज्ञलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्ने हामी सबैको दायित्व हो, ’उहाँले भन्नुभयो ।
तिलोत्तमा–१४ का अध्यक्ष आश्विन पौडेलले महायज्ञ सफल पार्न सबैले धन, मन, वृद्धि, विवेक समर्पण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएकोले यसलाई सफल बनाउन आग्रह गर्नुभयो ।
‘राज्यले मात्र नभइ जनसहभागीताबाट पनि धेरै ठूलाठूला योजना सम्पन्न गर्न सकिन्छ, ’आम जनसहभागीताबाट जुन उद्देश्य लिएका छौं, त्यो सफल गर्न सक्छौ, ‘उहाँले भन्नुभयो ।
श्री बभनी भूतपूर्व सैनिक आधारभूत विद्यालय तिलोत्तमा नगरपालिका वडा नम्बर १३ बभनी (टाईगर प्यालेसदेखि उत्तर १५० मिटर) रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij