बिहिवार , कार्तिक २०, २०८२
भैरहवा, २० कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–३ स्थित संस्कृत विद्या संन्यास आश्रम भैरहवालाई चामल र लत्ताकपडा हस्तान्तरण गरिएको छ । समाजसेवी तथा जे.भी. फाउण्डेशनका केन्द्रीय अध्यक्ष प्रा.डा. जगदीश वैद्यकोतर्फबाट बुधबार एक ट्रक (१ सय बोरा) चामल र ५० थान लत्ताकपडा हस्तान्तरण गरिएको फाउण्डेशनको रुपन्देही जिल्ला अध्यक्ष ज्ञानेश श्रेष्ठले बताउनुभयो ।
बुधबार आयोजित चामल र लत्ताकपडा हस्तान्तरण कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश कार्यालय, दाङका प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टले यो कार्यक्रममा सहभागी हुने मौका दिएको भन्दै जे.भी. फाउण्डेशनप्रति आभार व्यक्त गर्नुभयो । ‘विद्यार्थी जीवनमा हामीले संस्कृत, नैतिक शिक्षा जस्ता विषयहरु पढ्यौं । ‘पछिल्लो चरणमा समाजप्रति हाम्रो कर्तव्य के हो भन्ने कुरा शिक्षा दिने प्रणाली अली कम भएको हो कि भन्ने हामीले पनि महसुस गरेका छौं, ’उहाँले भन्नुभयो । वैदिक सनातन धर्म, संस्कृति, नैतिक शिक्षा, परम्परा कायम राख्न र अहिलेको पुस्तालाई त्यो कुराको ज्ञान दिन गुरुकुलहरुले ठूलो भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
आश्रमका पीठाधीश १००८ स्वामी शान्तानन्द सरस्वती महाराजले समाजसेवी र उदार मन भएका व्यक्तिहरुको सहयोगबाट यो गुरुकुल सञ्चालन भएको बताउनुभयो । ‘आउने पिढीहरु बाटो बिराएर गलत मार्गमा नलागुन् र समाजलाई मागर्दशन गर्न सकुन् भन्ने उद्देश्यले गुरुकुल स्थापना भएर सञ्चालन गरिएको उहाँले बताउनुभयो, ’उहाँले भन्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij