२०८३, आषाढ ५ गते

Jun 19 2026 | २०८३, आषाढ ५ गते

रोहिणीमा ५५० लालपूर्जा वितरण

आइतवार , कार्तिक १६, २०८२

  • 3.0K
    Shares
  • 3.0K
    Shares
  • भैरहवा, १६ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण गरिएको छ । आइतबार एक समारोहकाबीच वडा नम्बर ६ अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको हो ।

    आइतबार ५५० वटा लालपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । ‘गाउँब्लक जग्गाको प्रमाणपूर्जा जनतासँग नहुँदा निकै नै समस्या थियो,’उहाँले भन्नुभयो–‘हामी नागरिकलाई लालपूर्जा वितरण गर्न लागिपर्यौं र आज यो कार्यमा सफल भएका महसुस गरेका छौं छौं ।’ उहाँले बाटो बनाउनु मात्र नभइ आफ्नो जग्गाको मालिक जनता आफै बन्नु पनि विकास भएको उल्लेख गर्नुभयो ।

    अध्यक्ष यादवले जनताको हातमा लालपूर्जा देख्दा निकै नै खुसी लागेको बताउनुभयो । गत वर्ष रोहिणी–३ मा आयोजित समारोहमा ४५० वटा लालपूर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
    नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत मणि प्रसाद रेग्मीले जग्गाधनी प्रमाणपूर्जा वितरण गर्ने दिनलाई आफूले आफ्नो भाग्यको दिनको रुपमा समेत लिएको बताउनुभयो । उहाँले बाँकी वडामा पनि पूर्जा वितरण गरिने बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष शिवकान्ती हरिजनले लालपूर्जा वितरण आफैमा महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

    गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले नागरिकले लालपूर्जा पाएपछि आफ्नो अधिकार आफ्नो हातमा पाएको महसुस गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेतले भन्नुभयो-‘तपाईहरु आज आफ्नो सम्पत्तिको मालिक बन्नुभयो ।’

    रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले नागरिकलाई अब लालपूर्जाबिहीन छु भन्ने अवस्था नरहने बताउनुभयो । गाउँपालिकाका पूर्व प्रवक्ता सरोज कुमार पाण्डेयले जनताले लालपूर्जा पाउँदा खुसी भएको बताउनुभयो । 

    समाजसेवी देवेन्द्र पाण्डे ‘सागर’ ले कानूनी रुपमा नागरिक अब जग्गाको मालिक बनेपछि खुसी लागेको बताउनुभयो ।

    स्थानीय अनिल कुमार चौधरीले चौधरीले भन्नुभयो–‘अब जग्गा अझ व्यवस्थित हुनेभयो । जग्गा र घर भएका व्यक्तिसँग लालपूर्जा नहुँदा बैंकबाट ऋण लिने अवस्था थिएन । तर, लालपूर्जा पाएपछि आज बडो हर्षित छौं, हर्षको सीमा नै छैन ।’

    रोहिणी–६ का वडाअध्यक्ष इन्द्रमान चौधरीको स्वागत तथा श्री पशुपति माध्यमिक विद्यालयका प्रधानाध्यापक शिव कुमार राजभरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । रोहिणी गाउँपालिका धकधई, रुपन्देही र नापी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा समारोहको आयोजना गरिएको थियो ।