शनिवार , कार्तिक १५, २०८२
भैरहवा, १५ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का राम प्रसाद सापकोटाले आफ्नो जन्मदिनको अवसरमा खुला रक्तदान कार्यक्रमको आयोजना गर्नुभएको छ । ५१ वर्षमा प्रवेश गरेको अवसरमा सापकोटाले शनिबार भैरहवामा उक्त कार्यक्रमको आयोजना गर्नुभएको हो ।
‘रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसर पारेर यो कार्यक्रम आयोजना गरेको हुँ ।उहाँले भन्नुभयो–‘जन्मदिन लगायत विभिन्न अवसरमा सबैलाई यस्ता खालका कार्यक्रम गर्न म सबैलाई आग्रह गर्दछु ।’
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उपशाखाका सचिव समेत रहनुभएका सापकोटाले जन्मदिनको अवसरमा आफूले पहिलोपटक रक्तदान कार्यक्रमको आयोजना गरेको बताउनुभयो।हिमाली सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर ७, ८ र ९ को कार्यालय, बुद्धचोकमा आयोजित कार्यक्रममा १८ यूनिट रगत संकलन भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लाल प्रसाद पंगेनी (कृष्ण) र विशिष्ट अतिथि रेडक्रस रुपन्देही शाखाका जिल्ला सभापति रामचन्द्र उपाध्यायले जन्मदिन यस्तै कार्यक्रमहरु आयोजना गरेर मनाउन सबैलाई आग्रह गर्नुभयो ।
हिमाली सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विष्णु मरासिनीको सञ्चालनमा भएको कार्यक्रममा सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र जंग थापा, समाजसेवी लेखनाथ भट्टराई, रेडक्रस रुपन्देहीको उपसभापति रुपमा हिराचन, सिद्धार्थ उपशाखाका सभापति राजेश जि.सी, निवर्तमान सभापति बसन्त कुमार लाल कर्ण, उपशाखाका कोषाध्यक्ष खगेन्द्र शर्मा, सह-कोषाध्यक्ष विनिता श्रेष्ठ, पर्वत रुपन्देही सेवा समाज सिद्धार्थनगरका अध्यक्ष कुमार के.सी., शारदा रेग्मी लगायतको उपस्थिति थियो ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रम भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij