२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

लुम्बिनी प्रदेशमा तीन महिनामा पूँजीगत खर्च ७.२३ प्रतिशत

शुक्रवार , कार्तिक १४, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, १४ कार्तिक । लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको तीन महिनामा पूँजीगत खर्च ७.२३ प्रतिशत र चालू खर्च १२.५८ प्रतिशत गरेको छ । समग्रमा लुम्बिनी प्रदेशको खर्चको आकार ९ दशमलव ३५ प्रतिशत रहेको छ । ३८ अर्ब ९१ करोड कुल बजेटमध्ये चालू र पूँजीगत गरी जम्मा ३ अर्ब ६८ करोड खर्च भएको छ । चालूतर्फ १२ अर्ब १ करोड ४७ लाख ८६ हजार अर्थात् ३०.८८ प्रतिशत र पूँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार अर्थात् ६०.३२ प्रतिशत रहेको छ ।

    एउटा मन्त्रालयले पूँजीगततर्फ यस अवधिमा १ रुपैयाँ पनि खर्च गर्न सकेको छैन । एक मन्त्रालयको शून्यसहित चारवटा मन्त्रालयको खर्च १ प्रतिशत भन्दा कम छ । प्रदेश लेखा नियन्त्रण कार्यालय लुम्बिनी प्रदेशका अनुसार असोज मसान्तसम्म प्रतिशतका हिसाबले धेरै खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय रहेको छ । यो मन्त्रालयले ६० करोड ४६ लाख ५९ हजार ३ सय ७९ रुपैयाँ खर्च गरेको छ ।

    कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले पूँजीगत खर्च ८२ लाख १९ हजार १ सय ८५ रुपैयाँ अर्थात् ७.१० प्रतिशत खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको ६५ करोड ११ लाख ९५ हजार ४७ रुपैयाँ अर्थात् ६.७८ प्रतिशत, सहरी विकास तथा खानेपानी मन्त्रालयको ३६ करोड १५ लाख ४६ हजार ४६१ रुपैयाँ अर्थात् ६.७५ प्रतिशत पूँजीगत खर्च रहेको छ ।

    आर्थिक मामिला तथा योजना मन्त्रालयको ४ लाख ९२ हजार १ सय ९० अर्थात् २.४६ प्रतिशत, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको ४ करोड २० लाख ८ हजार ९ सय ६ अर्थात् १.७५ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ५ लाख १७ हजार ४ सय ८६ अर्थात् १.७४ प्रतिशत, वन तथा वातावरण मन्त्रालयको १ करोड ७० लाख ८३ हजार ८१ रुपैयाँ अर्थात् १.६१ प्रतिशत पूँजीगत खर्च रहेको छ ।

    १ प्रतिशत पनि खर्च गर्न नसक्ने मन्त्रालयहरूमा सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय रहेका छन् । सामाजिक विकास मन्त्रालयले ७६ लाख ८२ हजार ६० रुपैयाँ अर्थात् ०.६१ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको २५ लाख ६८ हजार ९६१ अर्थात् ०.२२ प्रतिशत र आन्तरिक मामिला तथा कानून मन्त्रालयको ४६ हजार ४७ रुपैयाँ अर्थात् ०.०३ प्रतिशत खर्च रहेको छ । 

    पूँजीगततर्फ १ रुपैयाँ पनि खर्च गर्न नसक्ने मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

    मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । २०८२ साउन ११ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय युवा तथा खेलकुद मन्त्रीमा नियुक्त हुनुभएको थियो ।