बिहिवार , कार्तिक १३, २०८२
बुटवल, १३ कार्तिक । रुपन्देहीमा आगामी मंसिर १४ देखि १९ गतेसम्म क्यानन दोस्रो एसाईड फुटबल प्रतियोगिता–२०८२ हुने भएको छ । बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित क्यानन माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
खेलकुदलाई विद्यालयसँग जोड्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले गत वर्षदेखि प्रतियोगिता गर्न थालिएको प्राचार्य शंकर भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको आन्तरिक तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।
पवन बस्यालको संयोजकत्वमा चार सदस्यीय मूल समिति गठन गरिएको छ । त्यसै गरी सुरेश घिमिरेको संयोजकत्वमा आर्थिक समिति, मिनराज गिरीको संयोजकत्वमा प्रचारप्रसार समिति, केशव नेपालीको संयोजकत्वमा खेल व्यवस्थापन र सुनिल गुप्ताको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति गठन गरिएको छ ।
कक्षा १२ सम्मका विद्यालयहरुका बीचमा प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुने ५५ हजार ५ सय ५५, द्वितीयले ३१ हजार ५ सय ५५ रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्रले पुरस्कृत गरिने प्राचार्य भण्डारीले बताउनुभयो ।
त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षकलाई नगद ३ हजार र म्यान अफ द म्यानका रुपमा खेलाडीहरुलाई पुरस्कृत गरिने प्रतियोगिता संयोजक तथा प्लस टु संयोजक पवन बस्यालले जानकारी दिनुभयो । विद्यालयस्तरीय प्रतियोगितामा रुपन्देहीका विद्यालयहरुको सहभागीता रहनेछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij