२०८२, कार्तिक १३ गते

Oct 30 2025 | २०८२, कार्तिक १३ गते

‘ए’ डिभिजन लिग गर्न खेलकुद मन्त्रालयद्वारा सरोकार पक्षसँग छलफल

बिहिवार , कार्तिक १३, २०८२

  • 397
    Shares
  • 397
    Shares
  • काठमाडौं, १३ कार्तिक । नेपालको घरेलु फुटबलको शिर्ष लिग आयोजना गर्ने विषयमा युवा तथा खेलकुद मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेको छ । 

    नेपाली घरेलु फुटबलको सहिद स्मारक ‘ए’ डिभिजन लिग दुई वर्षदेखि रोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले होम एन्ड अवे फरम्याटमा आगामी पुष ९ गतेदेखि शिर्ष डिभिजन लिग गर्ने प्रश्ताव गर्दै आएको छ ।

    तर १४ वटा क्लवहरूमध्ये धेरैले समय अभाव हुने र आवश्यक प्रायोजक पनि नपाएकाले तत्काल लिग खेल्न नसकिने धारणा राख्दै आएका छन् । यसैले एन्फाले प्रश्ताव गरेको समयमा लिग नहुने भन्दै फुटबल समर्थकले चिन्ता व्यक्त गरिरहेका छन् । बिहीवार खेलकुद मन्त्रालयले एन्फा र क्लबहरूसँग लिग आयोजना गर्ने विषयमा छलफल गरेको हो ।

    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, एन्फाका महासचिव किरण राई र विभिन्न क्लवका प्रतिनिधिबीच छलफल भएको छ । एन्फाका महासचिव राईले छलफलमा तत्कालीन र दीर्घकालसम्म नेपाली फुटबल अगाडि बढाउने राज्यले गर्नुपर्ने सहयोग र सहजीकरणका लागि मन्त्रालयको भूमिकाबारे छलफल भएको उल्लेख गरे ।

    नेपाली फुटबल विकासका लागि राज्य हरेक किसिमको सहयोग र समन्वयनकारी भूमिका खेल्न तयार रहेको मन्त्री गुप्ताको धारणा आएको एन्फाका महासचिव राईको भनाइ छ । दीर्घकालीन रूपमा नेपाली फुटबल विकासका लागि कार्यदल निर्माण गरिएको राईले जानकारी दिए ।

    एन्फाका कार्यकारी अधिकृत इन्द्रमान तुलाधार, मन्त्रालय र राखेपको पनि उक्त कार्यदलमा प्रतिनिधि रहेको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । उक्त समितिलाई पाँच दिनभित्र एउटा खाकासहित प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ ।

    लिग आयोजना गर्न राज्यले एन्फा र क्लबहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने विषयमा पनि छलफल भएको उनले उल्लेख गरेका छन् । साथै होम एन्ड अवेका अवधारणामा आयोजना गर्न लागिएको लिगका लागि क्लबहरूलाई राज्यको मातहतमा रहेका पूर्वधार उपयोग गर्ने विषयमा पनि छलफल भएको एन्फाका महासचिव राईले बताए ।

    विदेशी खेलाडी भित्राउँदा उनीहरूको श्रम स्विकृतिलगायतमा मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता प्राप्त भएको छ । मन्त्रालयले एन्फाको काममा हस्तक्षेप गरेको भन्ने आरोपमा भने महासचिव राईले निराधार रहेको धारणा राखे ।

    मन्त्री गुप्ताले आफू हस्तक्षेपभन्दा पनि प्रतियोगिता होस् भन्ने चाहनाअनुरूप छलफल अगाडि बढाएको धारणा राख्नुभएको एन्फाका महासचिव राईले उल्लेख गरेका छन् । क्लव र एन्फालाई परेको समस्यामा सहयोग गर्ने उद्देश्यलेअनुरूप मन्त्रालयले यो छलफल अगाडि बढाएको उनको धारणा छ ।

    कम्तीमा ५० दिनभित्र लिग सञ्चालन गर्नेगरी छलफtल भएको र त्यसमा क्लवहरू पनि तयार रहेको छलफलमा कुरा आएको उनको भनाइ छ । आफूहरू लिग गर्न तयारी नै रहेको र तर सँगै क्लबलाई पनि अगाडि लिएर लिग गर्न एन्फाको चाहना रहेको महासचिव राईले बताएका छन् ।

    उनले एन्फालाई मन्त्रालय र राखेपका सहयोग आवश्यक रहेको अवस्थामा अविभावकीय संस्थाले चासो दिनु सुखद् पक्ष रहेको धारणा राखेका छन् । एन्फाको असक्षमताभन्दा पनि मन्त्रालयले सहयोग गर्न खोजेको र आफूहरूले सहयोग लिन चाहेकाले यो छलफल भएको महासचिव राईको भनाइ छ । 

    एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाको क्षेत्राधिकारमा मन्त्रालयले हस्तेक्षप गरेको भन्दै विरोध जनाएका छन् । ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका अध्यक्षसमेत रहेका शेर्पा उक्त छलफलमा समेत सहभागी भएनन् ।

    मच्छिन्द्र क्लवका अध्यक्ष अनिल श्रेष्ठले भने सबै क्लबहरू लिग खेल्न तयार रहेको र तर तयारी गर्न समय कम भएको मात्र आफूहरूले उल्लेख गरेको बताएका छन् । उनले रेलिगेसन बचाउनका लागि नै दुई करोड खर्च हुने भएकाले कम्तीमा आफूहरूलाई ८÷९ महिना समय आवश्यक पर्ने बताएका छन् । 

    फुटबल खेलेरै क्लबहरूले आम्दानी गरिरहेको उल्लेख गर्दै उनले आफूहरू जुनसुकै अवस्थामा लिग खेल्न तयारी रहेको मच्छिन्द्रका अध्यक्ष श्रेष्ठ बताउँछन् । क्लव होम एण्ड अवेका आधारमा खेल्न तयार रहेको तर त्यसका लागि दीर्घकालीन योजना र समय आवश्यक रहेको उनले बताएका छन् । 

    गत वर्ष मात्र ‘बी’ डिभिजन लिगको साइकल पूरा भएको थियो । यहाँबाट श्री भगवती तथा प्लानिङ ब्वाइज क्लब शीर्ष डिभिजनमा बढुवा भए । एन्फाले अन्तिमपटक ०७९ मा ‘ए’ डिभिजन लिग गरेको थियो ।

    त्यसमा नवप्रवेशी चर्च ब्वाइज युनाइटेड लिग च्याम्पियन भयो । तर, त्यसपछि एन्फाको आन्तरिक राजनीतिमा लिग आयोजना परेका कारण लिग सञ्चालन हुन सकेको छैन ।