२०८२, कार्तिक १२ गते

Oct 29 2025 | २०८२, कार्तिक १२ गते

उद्योगको लाईन काटेको विरोधमा आन्दोलनको घोषणा

बुधवार , कार्तिक १२, २०८२

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १२ कार्तिक । रुपन्देहीका दर्जन बढी उद्योगमा विद्युत लाईन काटिएपछि उद्योगीले आन्दोलनको घोषणा गरेका छन् । आफूहरुले माग नै नगरेको ट्रंकलाइनको नाममा जबरजस्ती विद्युत महसुल तिराउन खोजिएको र नतिरेपछि उद्योगको लाईट काटिएको भन्दै उद्योगीहरु आक्रोशित बनेका छन् । उनीहरुले काटिएको लाईन नजोडिएको भन्दै आन्दोलनको घोषणा गरेका छन् ।

    उद्योगीहरुले पहिलो चरणको कार्यक्रम अन्तर्गत कार्तिक १३ गते बिहीबार धर्नामा बस्ने जानकारी दिएका छन् । बुधबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघमा बसेको उद्योगी–व्यवसायी सम्बद्ध विभिन्न संघ–संस्था, श्रमिक संगठनका प्रतिनिधि, लाईन काटिएका उद्योगका प्रतिनिधिसहितको बैठकले बिहीबार एक घण्टा धर्ना दिने निर्णय गरेको हो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले भोली बिहान ११ देखि १२ बजेसम्म नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले उक्त कार्यक्रममा उद्योगी–व्यवसायी, व्यवसायिक संघ–संस्थाका प्रतिनिधि, श्रमिक, कर्मचारीको सहभागीता रहने बताउनुभयो ।

    अन्य कार्यक्रमपछि पछि सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । अध्यक्ष आचार्यका अनुसार १३ वटा उद्योगमा विद्युतको लाइन काटिएको छ ।

    पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहूले उद्योगीलाई अन्याय भएको र नेपाल विद्युत प्राधिकरणले निशर्त रुपमा विद्युतको लाइन नजोडेसम्म अन्य वक्यौता पनि नतिर्ने बताउनुभयो ।

    नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमले सरकारको गलत निर्णयका कारण उद्योग बन्द भइ श्रमिक मर्कामा परेको बताउनुभयो । उहाँले १५ हजार बढी मजदूर बेरोजगार हुने अवस्थामा रहेको बताउनुभयो । भोली हुने धर्ना कार्यक्रममा श्रमिक संगठनको उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।