
सोमवार , कार्तिक ३, २०८२
काठमाडौं, ३ कार्तिक । यस वर्षको तिहारमा विद्युतको माग घट्ने भएको छ ।
तिहारका बेला खासगरी औद्योगिक क्षेत्रहरू बन्द हुने भएकाले विद्युत माग घट्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालकाअनुसार पछिल्ला केही वर्ष यता तिहारका समयमा विद्युत् खपतमा घट्ने प्रवृत्ति देखिएको छ ।
उहाँकाअनुसार पहिलेका वर्षहरूमा तिहारका बेला घरायसी प्रयोग बढ्ने भएकाले विद्युत खपत पनि बढ्थ्यो । तर अहिले उद्योग, होटल, रेस्टुरेण्ट र अन्य व्यावसायिक क्षेत्रहरू पर्वका बेला बन्द हुने भएकाले समग्र माग घट्ने अनुमान प्राधिकरणको छ ।
यद्यपी विद्युत मागअनुसार पर्याप्त उपलब्ध गराउने अवस्था रहेको सिलवालले बताउनु भयो । उहाँकाअनुसार पहिलेको जस्तो विद्युत प्रणाली कमजोर छैन । त्यसैले, तिहारका समयमा कुनै किसिमको अभाव नहुने विश्वास प्राधिकरणले लिएको छ ।
कार्यकारी निर्देशक सिलवालले भन्नुभयो– ‘अरू दिनको भन्दा तपाईंलाई अचम्म लाग्ला । पहिले तिहारमा बढ्थ्यो, अहिले तिहारमा डिमाण्ड घट्छ । यसको कारण तिहारमा इण्डस्ट्रीहरू बन्द हुन्छन् । त्यसकारणले हो ।
होटेल र रेस्टुरेन्टहरू पनि चलपल हुँदैन । त्यसैले तिहारमा सामान्यतया माग घट्छ । पहिला इन्डस्ट्रीको कन्जम्सन अलि कम थियो, डोमेस्टिक कन्जम्सन बढी थियो । तिहारमा मान्छेले डोमेस्टिकमा त बढाउने, इण्डस्ट्री नहुने ।
त्यसले गर्दा खपत बढी देखिन्थ्यो, पहिला । तीन÷चार वर्षयताको अवस्था हेर्ने हो भने, तिहारको बेलामा चाहिँ इन्डस्ट्री नचल्ने हुनाले खपत कम हुन्छ ।’
सिलवालकाअनुसार तिहार र छठजस्ता ठूला पर्वलाई लक्षित गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिका सबै तयारी अगाडि बढाइसकेको छ । नियमित विद्युत आपूर्तिका लागि कर्मचारीहरू पूर्ण रूपमा खटिनेछ ।
प्राधिकरणले यस्ता पर्वका समयमा आपूर्ति स्थिर राख्न वितरण लाइन, सबस्टेशन र मर्मत कार्यहरूमा आवश्यक पूर्वतयारी अघि बढाइसकेको उहाँको भनाइ रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij