२०८२, कार्तिक ३ गते

Oct 20 2025 | २०८२, कार्तिक ३ गते

‘कमीकमजोरी सच्याउँदै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन’

सोमवार , कार्तिक ३, २०८२

  • 343
    Shares
  • 343
    Shares
  • भैरहवा, ३ कार्तिक । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले वर्तमान परिवेश, चुनौती र समाधान विषयक छलफल कार्यक्रम सम्पन्न गरेको छ । आइतबार भैरहवामा भएको कार्यक्रममा वक्ताहरुले वर्तमान अवस्थामा कमीकमजोरी सच्याउँदै एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए । उनीहरुले एक–अर्कामाथि आरोप–प्रत्यारोप लगाउनु भन्दा एकजुट भएर अघि बढे मात्र मुलुकको विकास हुन सक्ने बताए ।

    कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले विगतका आन्दोलन भन्दा भदौ २३–२४ को आन्दोलन फरक रहेको बताउनुभयो । उहाँले विगतका आन्दोलनमा नेतृत्व रहे पनि अहिलेको आन्दोलन भने नेतृत्वबिहीन रहेको बताउनुभयो । ‘सरकारी र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरुमाथि कारवाही गरिनुपर्छ, ’उहाँले भन्नुभयो–‘अनि मात्र निर्वाचनको वातावरण बन्छ ।’चपाईले प्रधानमन्त्रीले सौहार्दपूर्ण वातावरण बनाउँछौं भन्दै राजनीतिक दलहरुलाई निर्वाचनमा भाग लिनका लागि आह्वान गर्नुपर्ने धारणा राख्नुभयो ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले जेनजी आन्दोलनको उद्देश्य सही भए पनि जेनजीको आडमा घुसपैठ भएर हिंसा र आगजनी भएको बताउनुभयो । उहाँले नकारात्मक भन्दा पनि सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले धेरै आत्तिनुपर्ने कारण नभएको बताउनुभयो । उहाँले विधिको शासन र कानून अनुसार अघि बढ्नु आग्रह गर्नुभयो । प्रजिअ डा. पाण्डेले जिल्ला प्रशासन कार्यालय रुपन्देही नागरिकको सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि कामहरु अघि बढिरहेको बताउनुभयो ।

    नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले राजनीतिक दलको विकल्प राजनीतिक दल नै भएको बताउनुभयो । उहाँले वर्तमान सरकारको निर्वाचन गराउने नै काम भएको बताउनुभयो । पोख्रेलले नेपाल प्रहरीको मनोबल बढाउनुपर्नेमा जोड दिनुभयो ।्

    भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेले आफ्नो ठाउँबाट सबैले राष्ट्रका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले नकारात्मक सोच हटाउनुपर्नेमा जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका महासचिव शिव ज्ञवालीले निर्वाचनको विकल्प नभएको बताउनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले संविधान र दलीय व्यवस्था बचाएर दलहरु एकढिक्का भएर अघि बढ्नुपर्ने बताउनुभयो । सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले निर्वाचनको वातावरण बनाउन लुटिएका सुरक्षाकर्मीका हतियार फिर्ता र कैदी कारागारमा जानुपर्ने बताउनुभयो ।

    वरिष्ठ साहित्यकार रुद्र ज्ञवालीले राजनीति बिना राज्य नचल्ने र कमजोर सरकारले मृलुकको विकास गर्न नसक्ने बताउनुभयो । प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले सबै मिलेर निर्वाचन गर्नेतर्फ नै केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

    नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले नकारात्मक मनलाई सकारात्मक बनाउनुपर्ने बताउनुभयो । उहाँले अराजक तत्वलाई मलजल गर्ने काम कसैले गर्न नहुने बताउनुभयो । कानून व्यवसायी हेमा न्यौपानेले नकारात्मक कुरा मात्रै नगरेर सरकारले गरेको राम्रो कामको प्रशंसा र प्रचार गर्नुपर्ने बताउनुभयो ।

    नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा धेरै असर पुगेको बताउनुभयो । नागरिक अगुवा विजय गोविन्द श्रेष्ठले समय र परिस्थितिको माग नबुझे कुनै सरकार टिक्न नसक्ने दावी गर्नुभयो ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुपन्देहीका संयोजक शोभाकान्त नेपालले नागरिकलाई केन्द्रमा राखे मात्र मुलुकको विकास हुने बताउनुभयो । सिद्धार्थ होटल संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष किशोर जोशीले समस्याको समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो ।

    वातावरण बचाउ आन्दोलन रुपन्देहीका अध्यक्ष भरत कुमार पोखरेलले राजनीतिभित्र भएका समस्या खोजेर त्यसको निराकरण गर्नुपर्ने बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्माले शान्ति सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताउनुभयो ।

    नेकपा (एमाले) रुपन्देहीका पूर्वअध्यक्ष तेजेन्द्र के.सी.ले निराश हुनुपर्ने जरुरी नभएको र रुपान्तरण आवश्यक रहेको बताउनुभयो । उपभोक्ता हित संरक्षण महासंघ रुपन्देहीका अध्यक्ष भरत बहादुर के.सी.ले मुलुकमा राजनीतिक स्थायीत्व नभएसम्म विकास हुन नसक्ने बताउनुभयो ।

    बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्यालले निराशाभित्र आशा खोज्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष तथा कार्यक्रम संयोजक नरेश के.सी.ले एकताबद्ध भएर सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता, कोषाध्यक्ष नरेश के.सी.को स्वागत, उपाध्यक्ष विश्वास ढकालको धन्यवाद ज्ञापन तथा सचिव सी.पी. खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।