२०८२, मंसिर २५ गते

Dec 11 2025 | २०८२, मंसिर २५ गते

वडा कार्यालय भवनमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना

शनिवार , कार्तिक १, २०८२

  • 1000
    Shares
  • 1000
    Shares
  • भैरहवा, १ कार्तिक । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएको हो । वडा कार्यालय भवनमा स्थापना भएको स्वास्थ्य सेवा केन्द्रको शुक्रबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा  बोल्दै नगरप्रमुख खाँले आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएसँगै अब नागरिकले नजिकबाट स्वास्थ्य सेवा पाउने बताउनुभयो । उहाँले प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्रको परिकल्पना गरिए अनुसार बाँकी रहेका ३ वटा वडामध्ये वडा नम्बर ४ मा पनि स्थापना भएको बताउनुभयो । उहाँले तिहार र छठ पर्वपछि वडा नम्बर २ र ८ मा पनि स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले सबैले आफ्नो शरीरसँगै घर, टोल र नगरको सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    त्यस्तै नगर उपप्रमुख उमा अधिकारीले स्वास्थ्यप्रति ख्याल राख्न आग्रह गर्नुभयो । उहाँले रोग लुकाउनुभन्दा उपचारमा जानु नै उपयुक्त हुने बताउनुभयो । स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएसँगै वडाबासीलाई सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    नगर प्रवक्ता तथा सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला) ले वडा कार्यालयमा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना भएपछि अब उपचारका लागि टाढा जानुपर्ने बाध्यता हटेको बताउनुभयो । उहाँले वडा कार्यालयमा एउटा एम्बुलेन्स पनि आवश्यकता रहेको वडाबासीको माग रहेकोले यसका लागि पहल गरिदिन नगरप्रमुख खाँलाई आग्रह गर्नुभयो ।

    सिद्धार्थनगर–४ का वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा सहायक कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवाली, फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङ, समाजसेवी अर्जुन गुरुङलगायतले बोल्नुभएको थियो ।