२०८२, कार्तिक १ गते

Oct 18 2025 | २०८२, कार्तिक १ गते

‘सरकारले सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक छ’

शनिवार , कार्तिक १, २०८२

  • 790
    Shares
  • 790
    Shares
  • भैरहवा, १ कार्तिक । सरकारले सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले करोडौं कर तिर्ने सुनचाँदी व्यवसायीले राज्यबाट सुविधा भने पाउन नसकेको बताए। 

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ सिद्धार्थनगर–१३, रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा व्यवसायीले पछिल्लो समय व्यवसाय सञ्चालनमा चुनौती थपिएको बताए ।

    कार्यक्रममा संघका अध्यक्ष राजन विश्वकर्माले देशको आर्थिक विकासमा सुनचाँदी व्यवसायीले योगदान पुर्याइरहेको बताउनुभयो । उहाँले व्यवसाय सञ्चालन गर्दा असुरक्षा, कर प्रणालीमा असुविधा लगायतका विभिन्न चुनौती रहेको बताउनुभयो । 

    त्यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले व्यवसायीलाई बिना बील सुनचाँदी खरीद नगर्न सचेत गराइएको बताउनुभयो । ‘सुन किन्न नपाए हामीले व्यवसाय बन्द गर्नुपर्छ, ’उहाँले भन्नुभयो–‘हामीलाई सरकारले हेर्ने दृष्टिकोण फरक छ ।’ सरकारले सुनचाँदीका वस्तुमा लगाएको विलासिता कर फिर्ता लिन माग गर्दै आन्दोलन समेत गर्नुपरेको उहाँले स्मरण गर्नुभयो ।

    लुम्बिनी प्रदेश सुनचाँदी व्यवसायी संघका प्रदेश सदस्य प्रकाशमणि रामदामले सम्पूर्ण प्रमाणहरु हुँदाहुँदै पनि कारोबार गर्दा समस्या आउने गरेको बताउनुभयो । ‘हाम्रो व्यवसायप्रति चासो र चिन्ता देखाउने सम्पूर्ण महानुभावहरुप्रति आभार व्यक्त गर्दछौं, ’उहाँले भन्नुभयो । रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदामले बीलसहित सुनचाँदी विक्री गर्न आए के गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले आफूहरु सधै थिचिएको बताउनुभयो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले व्यवसायीलाई हेर्न राज्यको दृष्टिकोण नकारात्मक रहेको बताउनुभयो । उहाँले राजस्व तिरेर राज्यलाई समृद्धि बनाउने निजी क्षेत्रको अहम भूमिका रहे पनि राज्यले व्यवसायीलाई सकारात्मक ढंगले हेर्न नसकेको बताउनुभयो । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले देशमा कुनै संकट पर्दा सुरुमै व्यवसायमा मारमा पर्ने गरेको बताउनुभयो । उहाँले सरकारको निर्णयविरुद्ध सुनचाँदी व्यवसायीले केही महिनाअघि आन्दोलन गरेको बताउनुभयो ।

    सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सरकारी निकायले बेलाबेलामा व्यवसायीलाई दुःख दिने गरेको बताउनुभयो । लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले सद्धार्थनगर सुनचाँदी व्यवसायी संघले व्यवसायीको हकहितसँगै सामाजिक कार्य गरेको बताउनुभयो । उहाँले संघको आफ्नै गरिमा र महत्व रहेको बताउनुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले व्यवसायीले कठिन अवस्थामा राज्यलाई सहयोग गर्नुभएको बताउनुभयो । उहाँले व्यवसायीलाई दुःख दिने प्रहरी–प्रशासनको नियत नरहेको बताउनुभयो । ‘तपाईहरुले गर्नुभएको योगदानबारे हामी जानकार छौं, गल्ती नगर्नुस्, सावधानी अपनाउनस्, ’उहाँले भन्नुभयो–‘तपाईको असल कर्ममा हामी साथ छौं, व्यवसायिक वातावरण बनाउने जिम्मेवारी हाम्रो हो ।’

    प्रमुख जिल्ला अधिकारी डा. पाण्डेले अरुलाई दोष लगाउनुभन्दा पूर्व सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले कुनै व्यवसायिक प्रतिष्ठानमा चोरी र लुटपाट भए त्यो प्रशासनको पनि कमजोरी भएको बताउनुभयो।

    सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रेम रामदामको स्वागत तथा महासचिव गणेश वि.क.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    nnnk.jpg