
बिहिवार , आश्विन ३०, २०८२
काठमाडौं, ३० असोज । जनता समाजवादी पार्टी, नेपाल मधेसको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।
नेतृत्व चयनका लागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रक्रिया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गर्नुभएको हो ।
उहाँका साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले पनि यादवलाई समर्थन जनाएका छन् । जसपा, नेपालको विधानविपरित अधिवेशन भइरहेकोले आफूहरुले अधिवेशन बहिष्कार गरेको अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले बताउनु भयो ।
अधिवेशन कर्मकाण्डी हिसावले चलिरहेको र अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरित आफूखुशी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए । आफूहरुलाई बन्दसत्रमा समेत महत्व नदिइएको उहाँको आरोप छ ।
यादवसँगै उहाँको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रक्रिया बहिष्कार गरेका छन् । यसका साथै मधेसका पूर्वमुख्यमन्त्री सरोजकुमार यादव, प्रदेशसभा सदस्य अनिरुद्दप्रसाद सिंह, पूर्वप्रदेश अध्यक्ष रामबाबु यादव लगायतका नेताहरुको समेत उनलाई समर्थन प्राप्त भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij