२०८२, आश्विन २९ गते

Oct 15 2025 | २०८२, आश्विन २९ गते

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छु : ओली

बुधवार , आश्विन २९, २०८२

  • 322
    Shares
  • 322
    Shares
  • काठमाडौं, २९ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताउनुभएको छ । 

    बुधवार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पार्नुभयो ।

    आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताउनु भयो ।

    अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताउनु भयो । उहाँले आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गर्नुभयो । 

    अध्यक्ष ओलीले भन्नुभयो,‘पार्टी भित्र पनि केही सुरवीरहरुलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुशी पार्दिन्छ ।

    देश अलपत्र पार्छ भन्ने ब्याख्या गरेको सुन्छु । मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन्, यो कमिटीले भन्नुपर्छ । यो कमिटीले हट्नुपर्छ भनेको बेला एकदम खुशीसाथ अध्यारो मुख लगाउन घर जलेपनि जान्या छैन, केही भएपनि जानेको छैन । मारिने अवस्था सृजना हुँदा पनि अध्यारो मुख लगाउन जान्या छैन ।

    फेरि पनि कमरेडहरुको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु । तर यो कमिटीमा बसेर यो कमिटीको कोही सदस्यले बाहिर गएर अखबारबाजी गरेर, लोकप्रियतावादको पछि कुदेर, के लोकप्रियतावाद हुन्छ यो ? कतिपय साथीहरुले मलाई भन्नुहुन्छ–तपाईलाई त बोकेर जानै सकिदैन ।

    किन बोक्नु प¥यो ? म आफै हिँडछु । हिँडन नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्ने छैन । प्रश्न के हो ? कसैलाई मन परेन होला । नबोक्नुस । अव प्रश्न के हो ? केन्द्रिय कमिटीले के भन्छ, महाधिवेशनले के भन्छ ? व्यक्तिगत इच्छा पूरा गर्न म हिँड्या होइन । यो देशको इच्छा, यो देशको इच्छा पूरा गर्ने कामको अगुवाई यो पार्टीले गर्छ ।

    पार्टीले जे भन्छ, त्यो गर्छु । त्यसकारण यी कुराहरुमा स्पष्ट रहन म साथीहरुलाई आग्रह गर्न चाहन्छु । हटने पनि प्रक्रिया हुन्छ । विरोधहरुलाई त घरमा आगो लगाउन मन लागेको थियो ।

    पार्टी कार्यालयमा आगो लगाउन मन लागेको थियो । मन नपराएर होइन हाम्रो केन्द्रिय कार्यालय जलाएको ? हाम्रा नेताहरुको घरमा आगो लगाएको मन पराएर हो ? त्यो विरोधीले गरेको हो ।’

    अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिनुभयो ।