२०८२, आश्विन २९ गते

Oct 15 2025 | २०८२, आश्विन २९ गते

काठमाडौं महानगरमा डिजिटल ठेगाना प्रणाली जडान

बुधवार , आश्विन २९, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • काठमाडौं, २९ असोज । काठमाडौं महानगरपालिकाभित्र एनएफसि (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणाली जडान गर्न शुरु गरिएको छ ।

    काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ लैनचौर क्षेत्रबाट उक्त प्रणाली जडान प्रारम्भ गरिएको हो । लैनचौरस्थित वडा कार्यालयमा ०९–लक्ष द्रव्य ६१११ नम्बरको प्लेट जडान गर्दै बुधवार वडाध्यक्ष एवं महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले प्रणाली शुभारम्भ गर्नुभयो ।

    वडापछि अल्का बस्ती मार्ग, लैनचौर मार्ग हुँदै प्लेट जडान गरिनेछ । प्रणाली खरिद तथा जडान कार्यका लागि वडाले आर्थिक वर्ष २०८१÷८२ मा थालेको सार्वजनिक खरिद प्रक्रिया टुङ्गिएपछि प्लेट जडान थालिएको हो । वडा अध्यक्ष तिवारीले ४५ लाख रुपैयाँको लागतमा खरिद गरि डिजिटल हाउस नम्बरिङको शुरुवात गरेको जानकारी दिनुभयो ।

    उहाँकाअनुसार यसअघि महानगरका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा रहेका थिए । त्यसलाई समयानुकुल परिमार्जन गरी प्रविधिमैत्री बनाउनको लागि एनएफसि चिप्स प्रविधिमा आधारित प्रणालीको शुरुवात गरेको उहाँको भनाई छ । उहाँले यस प्रणालीले शान्ति सुरक्षा कायम गर्नमा सहज पु¥याउने बताउनु भयो ।

    जडान गरिएको ठेगाना प्लेटमा नेपाली स्थानीय कोडसँगै युनिभर्सल गुगल प्लस कोड राखिएको छ । प्लेट जडान भएका घरमा घरधनीहरुले प्लेटको फोटो पठाएमा क्युआर स्क्यान गरेर लोकेसनमा पुग्न सकिने उहाँले बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकामा यो भन्दा पहिलाका घर नम्बरहरु मेट्रिक्स प्रणालीमा थियो । त्यसलाई समय अनुकुल, समय र प्रविधिमैत्री बनाउनको लागी २६ वडा कार्यलयले झन्डै ४५ लाख लागतमा खरिद प्रक्रियाद्वारा डिजिटल हाउस नम्बरिङ हामीले आजदेखि सुभारम्भ गर्न लागिरहेका छौँ ।

    यो प्रविधिअनुसार घरको नम्बरहरु दिँदा हाम्रा नागरिकहरुलाई शान्ति सुरक्षादेखि लिएर यावद कुरा घरमा भएका घटनाहरुलाई आफ्नो शान्ति सुरक्षा कायम गर्नको लागी घरमा जुनसुकै कुरा हुँदा पनि नजिकको प्रहरी कार्यलय, नजिकको वडा कार्यलय, दमकल लगायतका कुराहरुमा सहजिकरण पनि यो सिष्टमले सहयोग पु¥याउछ ।

    घर नम्बरबाट कसैले फोन गरेर पुलिसमा अथवा वडा कार्यलय अथवा दमकल जसलाई पनि समस्या पर्दा सम्झिन सक्नुहुन्छ, त्यो नम्बर भयो भने गुगलको माध्यमबाट हामी सहजै घर पहिचान गरेर तुरुन्तै जान पनि सक्छौँ ।’ 

    ६ हजार ८ सय ५० घर संख्या रहेको वडाभित्र कार्तिक मसान्तभित्र प्रणाली जडान गरिसक्ने योजना छ । यो कामको जिम्मा जेबिएस इन्फ्रास्ट्रक्चरले पाएको छ । एलमुनियममा लेजरमार्फत खोपेर तयार गरिएको एनएफसि ठेगाना प्लेटमा खानेपानी, बिजुली, इन्टरनेटलगायत सेवासँग सम्बन्धित ग्राहक नम्बर राखिएको छ ।

    यसमा राखिएको आइडी नम्बर कतै दोहोरिँदैन । यो आइडी तथा ठेगाना, कोड अफ लाइनमा समेत खोज्न सकिने गरी बनाइएको छ । यस्तै नम्बर प्लेटमा राखिएको क्युआर कोडबाट फोहर संकलनको जानकारी दिन, कुनै सर्भे गर्न, स्थानीय स्तरबाट कुनै सूचना प्रवाह जस्ता अत्यावश्यक कामका लागि छिटो र न्युन लागतमा काम गर्न सकिन्छ ।