२०८२, आश्विन २८ गते

Oct 14 2025 | २०८२, आश्विन २८ गते

अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव

मंगलवार , आश्विन २८, २०८२

  • 430
    Shares
  • 430
    Shares
  • काठमाडौं, २८ असोज । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको अवस्थामै फागुन २१ गते निर्वाचन हुने वा नहुनेमा शंका व्यक्त गर्नुभएको छ ।

    जसपा नेपालको मधेस प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष यादवले अहिलेको अन्तरिम सरकारले निर्वाचन गराउनसक्ने विश्वास दिलाउन नसकेको बताउनुभएको हो ।

    उहाँले निर्वाचन गराउनका लागि ६ महिनाको समयावधि दिएर बनाइएको सरकारको एक महिना बिना कुनै काम बितिसकेको बताउनु भयो ।

    राजनीतिक दल बिनाको निर्वाचन सम्भव नरहेको जिकिर गर्नुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले पनि निर्वाचन गराए जस्तै अहिलेको सरकार बिना राजनीतिक दलसग छलफल गरी निर्वाचन गराए परिणाममुखी नहुने उहाँको भनाई थियो ।

    यो सरकारको दायित्व तत्काल राजनीतिक दलहरुसँग छलफल र बहस गर्नु जरुरी रहेको बताउनु भयो । उहाँले संविधान पुनःलेखनको जरुरी रहेको बताउनु हुँदै सबैले स्वीकार गर्नसक्ने संविधान आवश्यक रहेको बताउनु भयो । मध्यावधि निर्वाचन पूर्व नै  संविधान संशोधन आवश्यक रहेको बताउनु भयो ।  

    अध्यक्ष यादवले भन्नुभयो, ‘हामीलाई थाहा छ, यो सरकार संविधानअनुकुल छैन । संसद विघटन पनि संविधानअनुकुल छैन । आवश्यकताको सिद्धान्तका आधारमा यो सरकार बनेको हो । चुनाव गर्ने दायित्व यो सरकारको छ ।

    एक महिनासम्म कुनै काम गरेको छैन । अन्तरिम सरकारले अहिलेसम्म हामीसँग निर्वाचन केन्द्रित छलफल गरेको छैन, के बिना राजनीतिक दलको निर्वाचन सम्भव छ ? राजनीतिक दलले भाग लिएनन् भने चुनाव सम्भव छैन । यदी चुनाव भएपछि राजा ज्ञानेन्द्रले गर्नुभएको भन्दा ठूलो चुनाव हुँदैन । अहिलेसम्म चुनावको वातावरण छैन ।’

    अध्यक्ष यादवले आफ्नो सम्बोधनको क्रममा संघीयता खारेजीका लागि पनि षड्यन्त्र भइरहेकोप्रति सचेत गराउनु भयो । उहाँले संघीय गणतन्त्रात्मक व्यवस्थालाई समाप्त पार्ने खेल भए त्यसविरुद्ध लड्न जसपा, नेपाल सदैव खडा हुने बताउनु भयो ।

    संघीयता खारेजीको माग उठाए आफूहरु मौन नबस्ने चेतावनी दिनुहुँदै उहाँले संघीय गणतन्त्रात्मक व्यवस्था कसरी मजबुत बनाउन सकिन्छ त्यसतर्फ सोच्नुपर्ने बताउनु भयो ।

    अध्यक्ष यादवले जेन जी आन्दोलन बहुदलीय व्यवस्था स्थापनापछि ३५—३६ वर्षमा काँग्रेस र कम्युनिष्टहरुको शासनबाट केही उपलब्धी हुन नसक्दाको परिणाम रहेको बताउनु भयो ।

    काँग्रेस र कम्यनिष्टहरुले सत्ताको खेलमा राजनीतिक अस्थिरतामात्रै पैदा गरेको आरोप लगाउनु भयो । बारम्बार प्रधानमन्त्री बनेपनि देशलाई बर्बाल पार्ने काम मात्रै गरेको आरोप लगाउनु भयो ।