२०८२, फाल्गुण १७ गते

Mar 01 2026 | २०८२, फाल्गुण १७ गते

भूमि समस्या समाधान आयोगको पुनःस्थापना गर्न माग : मंगलवारबाट आन्दोलन

सोमवार , आश्विन २७, २०८२

  • 844
    Shares
  • 844
    Shares
  • काठमाडौं, २७ असोज । किसान र श्रमिक संगठनहरुले सरकारले हालै खारेज गरेको भूमि समस्या समाधान आयोगको पुनःस्थापना गर्न माग गरेका छन् ।

    नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ र भूमी अधिकार तथा श्रमिक संगठनले उक्त माग राखेका हुन् । सरकारले गत असोज २३ गते पूर्ववर्ति सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग खारेज गरेको थियो ।

    दुवै संगठनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सरकार आयोग खारेज गरेर भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोवासी, श्रमजीवि गरिब जनताको हक अधिकार कुण्ठित गर्न उद्यत भएको आरोप लगाएका छन् ।

    मानव अधिकार प्रतिकुल हुनेगरी सरकारले गरेको गैरजिम्मेवारपूर्ण निर्णयको भत्सर्ना गर्दै दुई संगठनले आयोगको पुनःस्थापनाको माग गरेका छन् ।

    अखिल नेपाल किसान महासंघका प्रचार विभाग प्रमुख डा. भेषराज अधिकारीले आयोगले तीन वटै तहका सरकारसँगको समन्वयमा सुकुम्वासी, अव्यवस्थित बसोवासी र भूमिहीन दलितको आँकडा लिने, विद्यमान ऐन तथा नियममा रहेका कमिहरू पहिचान गरी संशोधन गर्ने तथा विज्ञ विशेषज्ञ एवं दक्ष कर्मचारीको संरचना निर्माण गरेर जग्गा धनी प्रमाण पूर्जा वितरणलाई द्रुततर ढंगबाट काम गरिरहेको बताउनु भयो ।

    तर चुनाव मात्रै गराउने कार्यादेश पाएको अन्तरिम सरकारले पूर्वाग्रही ढंगले उक्त आयोग खारेज गरेको दुई संगठनको आरोप छ । आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासी समेत २३ लाख बढीको लगत संकलन भूमि समस्या समाधान गरिसकेको थियो । 

    अखिल नेपाल किसान महासंघ अध्यक्ष डा. प्रेम दंगालले भूमि समस्या समाधान आयोग पुनःस्थापना गरेर बाँकी रहेका काम अगाडी बढाउन माग गर्नुभएको छ । सामाजिक न्याय र उत्पादन वृद्धिको हिसाबले जमिन भुमीहिन किसानलाई वितरण गर्ने काम सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले भुमीसम्बन्धी आयागहरु पटकपटक बनेपनि काम हुन नसकेको बताउनु भयो । तर यो आयोगले महत्वपूर्ण काम गरिरहेको अवस्थामा हठात ढंगले विघटन गर्ने काम गरिएको बताउनु भयो । 

    भूमि समस्या समाधान आयोग खारेज गरिएको विरोधमा किसान महासंघ र भूमी अधिकार तथा श्रमिक संगठनले प्रदर्शन गर्ने भएका छन् । मंगलवार अपरान्ह ३ बजे काठमाडौंको तीनकुनेमा एक घण्टा प्रदर्शन तथा कोणसभा आयोजना गर्न लागिएको हो ।

    असोज २९ गते दिनको १२ बजे मुलुकका ७७ वटै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ ।