
सोमवार , आश्विन २७, २०८२
भैरहवा, २७ असोज । हिन्दी चलचित्र ‘द डायरी अफ मणिपुर’ को छायांकन नेपालमा हुने भएको छ । उक्त चलचित्रका निर्देशक तथा निर्माता सनोज मिश्रासहितको टीम नेपाल आइपुगेको छ । बेलहिया नाका हुँदै नेपाल आइपुगेको टीमले आइतबार लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीको कार्यालयमा पत्रकारहरुसँग भेटघाट तथा चलचित्रबारे जानकारी गराएको छ ।
निर्देशक मिश्राका अनुसार चलचित्रको ८० प्रतिशत छायांकन नेपालमा हुनेछ । ‘प्रेमकथामा आधारित ‘द डायरी अफ मणिपुर’ को छायांकन चितवन र पोखरामा एक महिना गर्छौं’ उहाँले भन्नुभयो–‘आगामी २०२६ फेब्रुअरीमा फिल्म रिलिज गर्ने लक्ष्यमा छौं ।’ नेपालमा छायांकन सकिएपछि भारतको नयाँ दिल्लीमा पनि गरिने उहाँले जानकारी दिनुभयो । आफूले हालसम्म ‘द डायरी अफ वेस्ट बंगाल’ र ‘गान्धीगिरी’ सहित १७ वटा फिल्ममा निर्देशन गरिसकेको उहाँले बताउनुभयो ।
‘विगत ३५ वर्षदेखि वलिउड क्षेत्रमा छु, मैले चलचित्रको यात्रा सुरु गर्दा एकजना नेपालीको सहयोग पाएको थिएँ, नेपाल–भारतबीच सुमधुर सम्बन्ध छ । नेपाल आउँदा यहाँको आतिथ्यता, नेपालीको बोली–व्यवहारले निकै खुसीको अनुभुति हुन्छ’उहाँले भन्नुभयो ।
चलचित्रमा नायिकको भूमिकामा रहनुभएकी भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा गत वर्ष भएको महाकुम्भ मेलामा ‘भाइरल गर्ल’ का रुपमा चर्चित १६ वर्षिय मोनालिसा भोस्लेले आफू पहिला पनि एकपटक नेपाल आएको र नेपाल एकदमै मन परेको बताउनुभयो । उहाँले चलचित्रमा अभिनय गर्न पाउँदा कहिलेकाँही सपना देखेको जस्तो पनि लाग्ने गरेको बताउनुभयो ।
चलचित्रमा नायकको भूमिकामा रहनुभएका अभिषेक त्रिपाठीले नेपाल आएर पशुपतिनाथ मन्दिरको दर्शन गर्ने तथा फिल्ममा अभिनय गर्ने आफ्नो सपना पूरा हुन लागेको बताउनुभयो । त्यस्तै शिक्षकको भूमिकामा रहनुभएका कलाकार अमित रावले आफ्नो बाल्यकालदेखि नै फिल्ममा खेल्ने सपना रहेको स्मरण गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij