२०८२, आश्विन २५ गते

Oct 11 2025 | २०८२, आश्विन २५ गते

टुगा आस्था विकासको सातौं साधारणसभा : भैरहवा सेवा केन्द्रको एकाई बैठक सम्पन्न

शुक्रवार , आश्विन २४, २०८२

  • 445
    Shares
  • 445
    Shares
  • भैरहवा, २४ असोज । रुपन्देहीको ओमसतिया गाउँपालिका–१ स्थित ठुटीपीपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा अन्तर्गत बिहीबार भैरहवा केन्द्रको एकाई बैठक सम्पन्न भएको छ । 

    यसअघि ठुटीपीपल सेवा केन्द्र ठुटीपीपल र टुगा सेवा केन्द्र, कोटिहवाको एकाई बैठक सम्पन्न भइसकेको संस्थाका सचिव गोकुल पोखरेलले बताउनुभयो । सचिव पोखरेलका अनुसार टुगाबाट १९, ठुटीपीपलबाट १८ र भैरहवा सेवा केन्द्रबाट ३ गरी ४० जना निर्णय प्रमाणित प्रतिनिधि चयन भएका छन् । शनिबार बिहान ११ बजेदेखि संघको केन्द्रीय कार्यालयको सभाहलमा एकाई प्रतिनिधिहरुको सभा (निर्णय प्रमाणित गर्ने सभा) सुरु हुने उहाँले जानकारी दिनुभयो ।

    भैरहवा सेवा केन्द्रको एकाई बैठकमा बोल्दै प्रमुख वक्ता सहकारी अभियन्ता तथा जिल्ला सहकारी संघ लि., रुपन्देहीका सहायक व्यवस्थापक भुपराज भट्टराईले सहकारीका संस्थाका सदस्यहरु संस्थाको मालिक भएको बताउनुभयो । उहाँले कर्म खर्च गर्दै बढी बचत गर्ने बानी बसाल्न आग्रह गर्नुभयो । ‘हामी सहकारीका मालिक हौं र बैंकको ग्राहक हौं, सहकारीलाई राम्रो बनाउन शेयर सदस्यको भूमिका महत्वपूर्ण हुन्छ, ’उहाँले भन्नुभयो ।

    कार्यक्रममा सञ्चालक समितिको तर्फदेखि अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष डी.बी.थापाले संस्थाको चारवर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गरिने बताउनुभयो । अध्यक्ष थापाले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा असहज परिस्थितिमा पनि ९० करोड पूँजी पुर्याएको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको रुपन्देही जिल्लाभरी कार्यक्षेत्र रहेको बताउनुभयो । उहाँले गत आर्थिक वर्ष मसान्तसम्म ७ हजार १ सय ७८ जना शेयर सदस्य रहेको यो संस्थाको पहिलो स्वार्थ भनेको सदस्यको शेयर र बचत सुरक्षित राख्नु, सुरक्षित परिचालन गर्नु र मुनासिब प्रतिफल दिनु नै रहेको बताउनुभयो ।

    कार्यक्रममा सहकारीका सञ्चालक सदस्य थानेश्वर पाण्डे, सल्लाहकार धन बहादुर खड्का लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा सञ्चालक समिति सचिव गोकुल पोखरेलले सचिवको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष शारदा देवी पौडेलले आर्थिक प्रतिवेदन र लेखा संयोजक रतन बहादुर भण्डारीले लेखा सुपरीवेक्षण समिति संयोजकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सहकारीका अध्यक्ष डी.बी. थापाको अध्यक्षता, उपाध्यक्ष परसुराम बाँस्तोलाको स्वागत तथा सचिव गोकुल पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २०८१ सालको एसएलसी (कक्षा १२) को परीक्षामा उत्कृष्ट अंक ल्याएका सहकारीका शेयर सदस्यका छोरीछोरीलाई सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ता र कारोबारीलाई पनि सम्मान गरिएको थियो ।