
शुक्रवार , आश्विन २४, २०८२
पठन र प्रभाव
समीक्षा
बौद्धदर्शन र सञ्चार (२०७८) डा. बालकृष्ण चापागाईंको अनुसन्धानमूलक कृति हो । चापागाईं मूलतः पत्रकारिता पेसासँग आबद्ध व्यक्ति हुन् । नेपाली भाषासाहित्य तथा आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर चापागाईंले यसै विषयमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट विद्यावारिधिको अध्ययन पूरा गरी उपाधि आर्जन गरेका हुन् । यो यिनको सोही विद्यावारिधिको शोधप्रबन्ध हो, जुन प्रकाशित भई ग्रन्थका रूपमा पाठकलोकमा आएको छ । यसको प्रकाशकको भूमिकामा डा. सदीक्षा चापागाईंको नाम रहेको देखिन्छ भने लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, बुटवल मिडिया प्रकाशन प्रा.लि. र हाइटेक अफसेट प्रकाशन प्रा.लि.प्रकाशन सहकार्यमा रहेका छन् ।
यस ग्रन्थमा बौद्धदर्शन र सञ्चार, ऐतिहासिक सन्दर्भ, सैद्धान्तिक अवधारणा, बुद्धकालीन सञ्चार, बौद्धदर्शनको विकासमा सञ्चार, विश्वशान्तिका लागि बौद्धदर्शन र सञ्चार, उपसंहार: निष्कर्ष एवम् सुझाव तथा कृतिका मुख्य अंश गरी जम्मा आठ खण्ड रहेका छन् ।
पहिलो खण्ड बौद्धदर्शन र सञ्चार शोधप्रस्तावकै प्रशोधित रूप हो । यसमा विना उपशीर्षकको पृष्ठभूमिसहित अध्ययनको खोज, उद्देश्य, औचित्य, अध्ययनको सीमा, रूपरेखाजस्ता शोधप्रस्तावका अङ्गहरूकै चर्चा छ । ऐतिहासिक सन्दर्भ शीर्षकको दोस्रो खण्ड पनि शोधप्रस्तावकै अर्को एउटा अङ्ग हो । सम्बन्धित विषयकेन्द्रीत साहित्य समीक्षा अर्थात् पूर्वकार्यको खोज र तिनको विश्लेषण गर्ने सन्दर्भमा यसमा बौद्धदर्शन र सञ्चारसँग सम्बद्ध नेपाली, हिन्दी र अङ्ग्रेजीमा लेखिएका सामग्रीहरूको खोज र तिनको चर्चा गरिएको छ । उत्तर प्रदेश में बौद्धधर्मका विकास, दर्शन दिग्दर्शन, द वर्ड अफ र बुद्ध, बुद्धकालीन राजपरिवार (भाग–१, बुद्धकालीन परिव्राजकहरू (भाग–१, कन्ट्रिब्युसन अफ बुद्धिज्म टु वल्र्ड सिभिलाइजेसन एन्ड कल्चर, नेपालमा बौद्धधर्म, बौद्धधर्मका सामान्य परिचय, बुद्ध र बुद्धवाद (भाग–१ र २), भगवान् बुद्ध र उनको धर्म, अ फ्यु फ्याक्ट्स अबाउट बुद्धिज्म, कम्युनिकेसन फर डेभलपमेन्ट वन वल्र्ड मल्टिपल कल्चर्स, बौद्धदर्शन, द आइडिया अफ भरवल कम्युनिकेसन इन इयरली बुद्धिज्म, कम्युनिकेसन फर डेभलपमेन्ट इन द थर्ड वल्र्ड, लुम्बिनी अ हेभेन अफ सेक्रेड रेफ्युज, जर्नल अफ द इन्टरनेसनल एसोसिएसन अफ बुद्धिस्ट स्टडिज, सम्यक् सम्बुद्ध, बुद्धिस्ट प्रस्पेक्टि एन्ड हुमन कम्युनिकेसन, आर्ट एन्ड आर्किटेक्चर रिमाइन्स इन द वेस्टर्न तराई रिजन अफ नेपाल, कपिलवस्तु द वल्र्ड अफ सिद्धार्थ, इङ्गेजिङ बुद्धिज्म इन अस्टे«लिया, बुद्धको विश्वचिन्तन, संक्षिप्त बुद्धजीवनी, धम्मपदः गाथा और कथा, हिमाली क्षेत्रको नेपाली बौद्धपरम्परा, रुसमा बौद्धधर्मका केही उल्लेखनीय विशेषताहरू, बुद्धिस्ट सेक्टर इन इन्डिया, बुद्धिज्म इन फार इस्ट एसिया, इन्साइक्लोपिडिया अफ कम्युनिकेसन थ्यौरी, मेक्वायल्स मास कम्युनिकेसन थ्यौरी, लुम्बिनीको इतिहास, बौद्धदर्शन और धर्म, माइन्फुलनेस इन सेकेन्डरी स्कुल्स: लर्निङ लेसन्स फर द अडल्स सेक्युलर एन्ड बुद्धिस्ट, बुद्धचर्या, मिडियम मङ्क्स एन्ड अमुलेट्स, गौतम बुद्ध: जीवनी, उपदेश र सिद्धान्त, बुद्धवादका तीन आयाम, अ क्म्प्यानियन टु बुद्धिस्ट फिलोसपी, नेपालको लुम्बिनी अञ्चलमा बौद्धहरू र बौद्ध गतिविधि, एजेन्डा सेटिङ इन्फुलेन्स अफ द मिडिया इन द पब्लिक स्फेयर, बुद्धिस्ट कम्युनिकेसन स्टाइल्स फर न्यु जेनरेसन इन प्रिजेन्ट डे थाइल्यान्ड, फोर वेज टु कम्युनिकेट लाइक अ बुद्धिस्ट, हाउ टु कम्युनिकेट लाइक अ बुद्धिस्ट माइन्डफुल्ली एन्ड विदाउटजजमेन्ट, जर्नल अफ द अक्सफोर्ड सेन्टर फर बुद्धिस्ट स्टडिज, जेन बुद्धिज्म एन्ड मिडिया अ स्टडी अफ हाउ मिडिया अल्टर अर रेन्फोर्स जेन बुद्धिज्म इन नर्वे र जर्नल अफ मास कम्युनिकेसन एन्ड जर्नालिज्म लगायतका सामग्रीहरू यस अनुसन्धानमा प्रयोग भएका देखिन्छन् ।
तेस्रो खण्डमा रहेको सैद्धान्तिक अवधारणा पनि शोधप्रस्तावकै अर्को एउटा अङ्गको विश्लेषण हो । यसमा शोधविधि, अनुसन्धान ढाँचा, तथ्याङ्कको प्रकृति–स्रोत र सङ्कलन प्रक्रिया तथा तथ्यहरूको विश्लेषण उपशीर्षकहरूको विश्लेषण गरिएको छ । बुद्धकालीन सञ्चार शीर्षकको चौथो खण्डबाट अनुसन्धान कार्य अगाडि बढेको देखिन्छ । यसमा बुद्ध शब्दको अर्थ र परिभाषा दिइएको छ भने बुद्धका प्रकारहरूको पनि परिचय दिइएको छ । सिद्धार्थको पारिवारिक पृष्ठभूमि, सिद्धार्थको जन्म र नामकरण, सिद्धार्थको बाल्यकालमै अहिंसावादी सोच, सिद्धार्थको वैवाहिक जीवन, सिद्धार्थको गृहत्याग, सिद्धार्थ र सम्राट् बिम्बिसार संवाद, ज्ञानप्राप्तिको अभ्यासमा सिद्धार्थ, सिद्धार्थलाई बुद्धत्व प्राप्ति, गौतम बुद्ध ः उपदेशमार्गमा, गौतम बुद्ध र शुद्धोदन भेट, गौतम बुद्धको महापरिनिर्वाण, सञ्चारसम्बन्धी बुद्धको अवधारणा, भूगोलमा बुद्ध र सञ्चार, बुद्धकाल र सञ्चार, सञ्चारमा बुद्धको भाषा र शैली, सञ्चारमा बौद्धविहार, भिक्षु, भिक्षुणी, उपासक एवम् उपासिकाको भूमिका, सञ्चारमा त्रिरत्न बुद्धत्वप्राप्तिका आधार र सञ्चार उपशीर्षकहरूको विशद व्याख्या गर्दै निष्कर्षसहित यो खण्ड समापन भएको छ ।
बौद्धदर्शनको विकासमा सञ्चार शीर्षकको यस ग्रन्थको पाँचौँ खण्डमा बुद्धकालीन चिन्तकहरूको विवरणसहित परिचय दिइएको छ । तत्पश्चात् बौद्धदर्शनका आधारअन्तर्गत चार आर्यसत्यसहित अष्टाङ्गिक मार्गको चर्चा छ । यसरी नै पारमिताका प्रकारहरूको चर्चा पनि छ । बुद्धको दार्शनिक विचार, बौद्धदर्शनको विकासक्रम, बौद्धदर्शनका प्रमुख मत, बौद्धसम्प्रदायहरू, बौद्धदर्शनको विकासमा त्रिपिटक, पालि साहित्य र सञ्चारजस्ता उपशीर्षकहरूको वर्गीकरण र व्याख्या सूक्ष्म ढङ्गले गरिएको छ । विश्वशान्तिका लागि बौद्धदर्शन र सञ्चार शीर्षकको छैटौँ खण्डमा विश्वशान्ति र सञ्चार, सञ्चारका सिद्धान्त, निरङ्कुशतावादी सिद्धान्त, उदारवादी सिद्धान्त, सामाजिक उत्तरदायित्वको सिद्धान्त, साम्यवादी सिद्धान्त, सञ्चारमा शान्ति–सिद्धान्त, शान्ति र बुद्धत्व, विश्वशान्तिका आधार, विश्वशान्तिको प्रयास, विश्वशान्ति र बौद्धसञ्चारजस्ता उपशीर्षकहरूको विवेचना, विश्लेषण र व्याख्या गर्दै निष्कर्षमा यसलाई टुङ्ग्याइएको छ । मूलतः यस खण्डमा बौद्धदर्शन र सञ्चारलाई समानान्तर ढङ्गले विश्लेषण गरिएको छ । उपसंहार ः निष्कर्ष एवम् सुझाव शीर्षकको सातौँ खण्डमा अनुसन्धानको सार प्रस्तुत गरिएको छ भने प्राप्तिको चर्चा गर्दै निष्कर्ष र सुझावहरू दिएर समापन गरिएको छ । कृतिका मुख्य अंश शीर्षकको आठौँ खण्डमा उद्देश्य, बौद्धदर्शन र सञ्चार, सैद्धान्तिक अवधारणा, बुद्धकालीन सञ्चार, बौद्धदर्शनको विकासमा सञ्चार, विश्वशान्तिका लागि बौद्धदर्शन र सञ्चार, उपसंहार निष्कर्ष एवम् सुझावजस्ता उपशीर्षकको सारांशका रूपमा प्रस्तुति छ ।
यस ग्रन्थमा बौद्धधर्म र दर्शनलाई सञ्चारसँग संयोजन गरिएको छ । त्यसो त बुद्धका अत्यन्त महत्वपूर्ण उपदेशहरूको गहनतापूर्वक खोज र विश्लेषण गरिएको यस ग्रन्थमा सञ्चारले भन्दा बढी बौद्धदर्शनले महत्व पाएको छ । अनुसन्धाताका अनुसार बौद्धदर्शन एउटा शाश्वत मानवीय दर्शन हो । गौतम बुद्ध र अहिंसा एक अर्काका परिपूरक हुन् । यसमा त्रिपिटकहरूको प्रभावकारी ढङ्गले व्याख्या गरिएको छ भने बुद्धको धर्मदेशनालाई तत्कालीन अवस्थामा सञ्चारप्रवाहको प्रमुख माध्यमका रूपमा ग्रहण गर्दै चर्चा गरिएको छ । अनुसन्धाताको भनाइ अनुसार बुद्धले खासगरी प्राचीन र परम्परागत सञ्चार पद्धतिका रूपमा अन्तर्मुखी सञ्चार, अन्तर्वैयक्तिक सञ्चार, समूह सञ्चार र सामान्य रूपमा प्राचीन आमसञ्चारको प्रयोग गरेका थिए । त्यस अवस्थामा गौतम बुद्ध स्वयम् विभिन्न गाउँ सहरहरूमा पुगेर विचारको सम्प्रेषण गरेका थिए ।
आधुनिक सञ्चारको विकासका सापेक्षतामा सञ्चारसिद्धान्त र परिपाटीको जन्म नै नभएको बुद्धदर्शन र त्यसको प्रचारप्रसारको युगलाई अनुसन्धाता/लेखकले तर्क र तथ्यका आधारमा सञ्चारसँग जोड्ने नयाँ खालको चिन्तन गरेका हुन् । बौद्ध दर्शनको समग्र समुच्चयका रूपमा यस ग्रन्थलाई लिन सकिन्छ । यसको सूक्ष्म अध्ययन गर्दा बुद्धधर्म र दर्शनबारे धेरै कुराको ज्ञान हुन्छ । बौद्धदर्शनमा पारिभाषिक शब्दहरूको प्राचुर्य छ । तिनको अर्थबोधका लागि पनि यसले गुरुको काम गरेको छ । अनेक संस्कृत र पालि भाषाका श्लोकहरू यसमा उदाहरणका लागि प्रयोग भएका छन् । तिनको अर्थसहित आवश्यक अवस्थामा व्याख्या पनि गरिएको छ । बौद्धदर्शनले आत्माको सत्तालाई स्वीकार गरेको छैन, अपितु यसले संसारका सबै वस्तु अनित्य, अनात्मा र प्रतीत्यसमुत्पाद, अनीश्वरवाद र अभौतिकवादजस्ता दार्शनिक मान्यतालाई स्वीकार गरेको छ । मैत्री, करुणा र मानव कल्याणका लागि शान्तिपूर्ण सहअस्तित्व बौद्धदर्शनको मूल सार हो भन्ने कुरा पनि यहाँ उल्लेख छन् । यो शोधग्रन्थ मूलतः बुद्धकालीन सञ्चार, बौद्धदर्शनको विकासमा सञ्चारको भूमिका एवम् विश्वशान्तिहेतु बौद्धदर्शन र सञ्चारको भूमिकामा सङ्केन्द्रित छ । नेपालीमा बौद्धदर्शनलाई सञ्चारसँग जोडेर गरिएको सम्भवतः यो पहिलो अनुसन्धानात्मक कार्यको कृति हो । यसको महत्वमाथि प्रकाश पार्दै भूमिकामा जङ्गबहादुर शाहले ‘विश्वभरिका पाठकले पढ्नुपर्ने पुस्तक’ भनेका छन् । बौद्धधर्म र दर्शन समग्रमा सारमा बुझ्नका लागि उपयोगी र उपलब्धिमूलक यो ग्रन्थ निकै गर्विलो र पठनीय मात्रै होइन, सङ्ग्रहणीय समेत छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij