२०८२, फाल्गुण २५ गते

Mar 09 2026 | २०८२, फाल्गुण २५ गते

प्याब्सनसँग उम्मेदवार : शिक्षा क्षेत्रका मुद्दा चुनावी बहसको केन्द्रमा

सोमवार , फाल्गुण ११, २०८२

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, ११ फागुन । निर्वाचनको माहोल तातिँदै जाँदा शिक्षा क्षेत्रका मुद्दा पनि चुनावी बहसको केन्द्रमा उभिएका छन् । रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवारहरूलाई निजी विद्यालय सञ्चालकहरूले शिक्षा नीतिको स्थिरता, समान व्यवहार र प्रशासनिक सहजताबारे स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेका छन् ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरको आयोजनामा ‘प्याब्सनसँग उम्मेदवार’ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा निजी तथा आवासीय विद्यालयहरूले भोगिरहेका समस्या र आगामी नीतिगत दिशाबारे खुला छलफल गरिएको थियो ।

    कार्यक्रममा निजी विद्यालय सञ्चालकहरूले बारम्बार परिवर्तन हुने शिक्षा नीति, स्थानीय तहअनुसार फरकफरक अभ्यास, शुल्क निर्धारणसम्बन्धी अन्योल, कर तथा प्रशासनिक झन्झट, शिक्षक–कर्मचारी व्यवस्थापनका चुनौती तथा कोभिड–१९ पछिको आर्थिक असर जस्ता विषय उठाएका थिए । उनीहरूले शिक्षा क्षेत्रलाई दीर्घकालीन र स्थिर नीति आवश्यक रहेको धारणा राखे।

    उम्मेदवारहरूले शिक्षा क्षेत्रको जटिलता स्वीकार गर्दै व्यवस्थित र स्थिर नीति निर्माणका लागि सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । निजी र सरकारी विद्यालयबीच समन्वय र समान व्यवहार हुनुपर्ने विषयमा पनि उनीहरूले सकारात्मक धारणा व्यक्त गरे ।

    प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले यस्तो संवाद कार्यक्रम गत स्थानीय तह निर्वाचनदेखि सुरु गरिएको जानकारी दिनुभयो । शिक्षा क्षेत्रका मुद्दा प्रत्यक्ष रूपमा उम्मेदवारसमक्ष राख्न र निर्वाचित भएपछि प्रतिबद्धता कार्यान्वयन गराउन यस्तो कार्यक्रम प्रभावकारी हुने उहाँको भनाइ छ ।

    कार्यक्रममा रुपन्देही–३ का ७ जना उम्मेदवार सहभागी भएका थिए । कार्यक्रममा नेकपा (एमाले) का उम्मेदवार बासुदेव घिमिरे, नेपाली काँग्रेसका सुशील गुरुङ्ग, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का फैज अहमद खाँ, जनमत पार्टीका विशाल गुप्ता, राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमान, राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अली मुसलमान र स्वतन्त्र उम्मेदवार जीत बहादुर गुप्ता सहभागी हुनुभएको थियो ।

    आयोजकका अनुसार, कार्यक्रमले शिक्षा एजेण्डालाई चुनावी प्राथमिकतामा स्थापित गर्ने प्रयास गरेको छ ।