
बिहिवार , आश्विन २३, २०८२
काठमाडौं, २३ असोज । पछिल्ला दिनहरुमा सुनको भाउले हरेक दिन रेकर्ड तोड्दै गएको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै नेपाली बजारमा समेत निरन्तर उचाईतर्फ लागिरहेको सुनको मूल्य अझै रोकिने अवस्था छैन । यो साता लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीवार पनि तोलामा १२ सय रूपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार २ सय रूपैयाँमा कारोबार भयो । जुन अहिलेसम्मकै उच्च हो ।
यो साता सोमवार २५ सय रूपैयाँले बढेको सुनको मूल्य मंगलवार २३ सयले उकालो लागेको थियो । बुधवार पनि २६ सयले बढ्दै सुन प्रतितोला २ लाख ३८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
यसरी सुनको भाउले दिनदिनै रेकर्ड तोड्दै जानुका कारणहरु आन्तरीक भन्दा पनि वाह्य कारण बढी रहेको सुनचाँदी व्यवसायीहरु बताउछन् । उनीहरुकाअनुसार सुनको भाउ कोभिडयता नै निरन्तर बढ्दै गएको छ ।
कहीलेसम्म बढिरहने हो भन्न सकिने अवस्थै छैन् । रुस–युक्रेन युद्धदेखि, अन्य ठूला शक्ति राष्ट्रबीच संघर्ष चर्किंदा सुनको भाउ झन् पनि झन् बढ्दै गएको व्यवसायीको बुझाइ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्य रुस–युक्रेन, इजरेल–हमासको युद्ध र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्वका कैयौँ देशमा लगाएको करका कारण सुनको भाउ उच्च भएको बताउनु भयो ।
उहाँकाअनुसार भारतलाई अमेरिकाले ट्यारिफ बढाएलगत्तै भारतको अर्थतन्त्र डामाडोल हुनपुग्यो । भारतले शरण माग्नुपर्ने भयो । उसले रसियासँग शरण माग्यो ।
रसियाले चाइनासँग सहकार्य गरिसकेपछि, अहिले भारत, चाइना, रसिया, ब्राजिल जस्ता देशहरूले ब्रिक करेन्सी निकाल्न लागेका छन् । उनीहरुले अमेरीकालाई काउन्टर दिन खोज्दा त्यसको असर सुनचाँदीको भाउ सम्मै पुगेको बज्रचार्य बताउनुहुन्छ ।
उहाँकाअनुसार अब ब्रिक करेन्सी आउने भएपछि डलरको भाउ चाहिँ खस्किने देखिन्छ । डलर किन राख्ने भनेर अहिले नेपाल, चाइना र इन्डियाले आफूसँग संचित भएको डलर फाल्दै सुनजम्ममा गरेका कारण सुन बजारमा अभाव भएको छ ।
अरु युरोपियन देशहरू लगायतका अरु देशहरूको रिजर्भ बैंकहरूले पनि सुनको अभाव रहेको र उनीहरु पनि सुन जम्मा गर्नतर्फ लागेका छन् ।
उपाध्यक्ष बज्रचार्यले भन्नुभयो–‘बजारमा अहिले सुन अभाव भो । इन्भेस्टरहरू बजारमा आए । बजारमा सुन अभाव भो । त्यस कारणले यो अहिले चाहीँ पछिल्लो दिनमा यसरी बढेको हो । यो बढ्दै गर्दा यो भाउ यति धेरै बढ्दैन भन्ने संकेत बिचमा एकचोटि आएको थियो ।
तर फेरि अमेरिकन फेडरल रिजर्भ बैंकले जुन ब्याजदर राखेको थियो र ट्रम्प सरकारले त्यहाँ पनि हस्तक्षेप गरेर अमेरिकन फेडरल रिजर्भ बैंकलाई चाहिँ ब्याजदर घटाउन चाहिँ दबाब दिएको अवस्था र पछिल्लो पटक २५% ब्याजदर घटेको पनि छ । र यो ब्याजदर अझ घट्न सक्ने सम्भावना देखिएको छ । त्यो कारणले गर्दाखेरि पछिल्लो चोटी ड्राष्टिक रुपमा सुनको भाउ चाहिँ माथि गएको हो ।’
उहाँकाअनुसार अबका दिनहरूमा सुनको मूल्य अझै माथि पुग्छ । बजारमा सुनको अभाउ हुँदासम्म यसको माग उच्च हुनेछ । एउटा बिन्दुमा पुगेपछि सुनको भाउ घट्ने उहाँ बताउनुहुन्छ ।
सुनमा लगानी गर्ने बढ्दै
पछिल्ला दिनमा सुनमा लगानी गर्नेहरु बढिरहेको बज्रचार्य बताउनुहुन्छ । उहाँकाअनुसार आवश्यक पर्ने व्यक्तिहरूले भन्दा पनि आवश्यक नपर्ने व्यक्तिहरूले सुन किनिरहेका छन् । नेपाली रुपैयाँको त्यसै पनि भ्यालु छैन ।
भोलि डलरको नि भ्यालु नहुन सक्छ र सुनको मात्र भ्यालु हुने रहेछ, भनेर अहिले सर्ट टर्मको लागि सुनमा इन्भेस्ट गर्ने र त्यो पछि फेरी बेचेर त्यसबाट पैसा कमाउने बढेको उहाँको भनाइ छ ।
नेपालमा ढिका सुन राख्न पाउने प्रावधान छैन, त्यो नहुँदा गहना बनाएर राख्नेहरु बढेको बज्रचार्य बताउनुहुन्छ । उहाँकाअनुसार दसैँ अगाडिदेखि मात्र यसरी गरगहना बनाएर राख्नेहरुको चहलपहल देखिएको हो होइन भने नेपाली जनताहरूको क्रयशक्ति त्यति धेरै राम्रो नभएकाले त्यस्तो चहलपहल थिएन ।
महासंघका प्रथम उपाध्यक्ष बज्रचार्य जसरी सुनको भाउ बढेको छ । त्यसैगरी घट्न पनि सक्छ । त्यसले आफुलाई आवश्यक पर्ने सुनहरू खरिद गर्न राम्रो नै हुन्छ । अलिकति शर्ट टर्म लगानी गरेर क्यास गर्छु भन्ने हिसावले लगानी गर्नेहरुले कमाउन सक्छन् ।
केही लगानीकर्ताले सुनचाँदीमा रकम खर्चेपनि सामान्यतया सुनचाँदी पसलहरुमा उपभोक्ताको भीड देखिँदैन । बानेश्वरमा रहेको एसआर ज्वेलर्सका सञ्चालक सिताराम गहतराजले सुनचाँदीको भाउ आकासिएपछि पहिलेको तुलनामा कारोबार धेरै कम भइरहेको बताउनु भयो ।
उहाँकाअनुसार अन्तर्राष्ट्रिय बजारमै मुल्य वृद्धि भएका कारण त्यसको असर व्यवसायमै परेको छ । सञ्चालक गहतराजले भन्नुभयो–‘पहिले जस्तो सुनचाँदीको कारोबार छैन् । आर्थिक मन्दी , आन्दोलनले गर्दा पनि उपभोक्तालाई मार नै परिरहेको छ । क्रयशक्ति घटेका कारणले व्यवसाय उत्साहजक छैन्।’
उहाँकाअनुसार चाडपर्वको बेला सिजन भएकाले नयाँ सुन भन्दा पनि पुराना भएका गहनालाई मिलाएर बनाउने काम उपभोक्ताले गरेका छन् । सरकारले करका नाममा अतिरिक्त कर लगाएका कारण त्यसको असर बजारमा देखिएको गहतराजको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij