२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन : ओली

बिहिवार , आश्विन २३, २०८२

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • काठमाडौं, २३ असोज । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

     नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको हो ।

    अध्यक्ष  ओलीले सो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिनुभयो ।

    असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने ओलीको भनाई थियो । उहाँले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु–नेपाली काँग्रेसले पनि आफूलाई यही बाटोमा अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अघि बढनेछ ।

    अरु पार्टीहरु पनि यही बाटो अगाडि बढ्नेछन् । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक बाटोमा, प्रणालीमा फर्काउन । त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरु त्यसलाई स्वीकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुनेछ । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौ भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ ।’

    अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहो¥याउनु भयो ।