२०८२, आश्विन १४ गते

Sep 30 2025 | २०८२, आश्विन १४ गते

अविनास आश्रमका बालबालिकालाई दशैंमा नयाँ लुगा

मंगलवार , आश्विन १४, २०८२

  • 514
    Shares
  • 514
    Shares
  • भैरहवा, १४ असोज । लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकबिहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । क्लबले आफ्नो ९ औं स्थापना दिवस तथा बडादशैंको अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनास अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको हो ।

    क्लबका अध्यक्ष युवराज श्रेष्ठले बालबालिकालाई टीका लगाएर दक्षिणा समेत प्रदान गरिएको बताउनुभयो । त्यस्तै आश्रममा रहेका बालबालिकालाई बिहानको एक छाक खाना पनि खुवाइएको उहाँले बताउनुभयो ।
    यसपटकको स्थापना दिवस फरक ढंगले मनाउने प्रयास अनुसार आश्रममा कार्यक्रम गरिएको क्लबका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन्द्र तुलाधरले बताउनुभयो ।

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले दशैं आफ्नो परिवारमा बसेर रमाउने मात्र नभइ अरुको जीवनमा पनि खुसी ल्याउन सकियोस् भन्ने उद्देश्यले क्लबले गरेको कार्यक्रम सराहनीय रहेको बताउनुभयो ।

    त्यस्तै निवर्तमान डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले लायन्स क्लब अफ सिद्धार्थनगर युथले सामाजिक कार्यलाई बहन गर्दै आएको बताउनुभयो । सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले आफ्नो खर्च कटाएर क्लबका सदस्यहरुले सेवाको हात अगाडि बढाउनु प्रशंसनीय रहेको बताउनुभयो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठले यस्तो कार्यक्रममा सहभागी हुन पाउँदा खुसीको अनुभुति भएको बताउनुभयो ।

    कार्यक्रममा क्लबका संस्थापक सदस्यहरुलाई सम्मान समेत गरिएको सचिव विराट गुरुङले बताउनुभयो । नेपाल अविनास अनाथ आश्रममा हाल २२ जना बालबालिका रहेको अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

    स्थापना दिवस समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा गायक हेमन्त शर्मा, पूर्व डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, फस्ट भाइस डिष्ट्रिक गनर्भर सन्दिप कसौधन, लायन्सका अगुवाहरु ओम कुमार श्रेष्ठ, संगम न्यौपाने, प्रशान्तमणि रामदाम, राकेश गुरुङ, धिरज मल्लिक लगायतको आतिथ्यता थियो ।