
सोमवार , आश्विन १३, २०८२
महोत्तरी, १३ असोज । मिथिलाञ्चलमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य हो ।
दशैँको आगमनसँगै मिथिलाको यो लोकनृत्य गर्ने गरिन्छ । पूर्णतान्त्रिक विधि अनुसार गरिने यो नृत्यको मिथिलामा विशिष्ट महत्व रहेको छ । घटस्थापनादेखि विजय दशमीसम्म देवी स्तुतिको रुपमा मिथिलाञ्चलमा भिझिया नृत्य गर्ने परम्परा रहेको छ ।
बोक्सीबाट आफ्नो सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रही आएको छ । यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ ।
बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैँटो चेतनारुपी कायाको नमूना हो । टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँ बायाँ हल्लाइरहने प्रवृत्तिले यसमा निहित यही विशेष अर्थलाई संकेत गर्दछ ।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ । त्यो विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै नृत्य गर्दै जाँदा अदभूत वातावरणको निर्माण हुन्छ ।
झिझिया नृत्यलाई कतिपयले अन्धविश्वासको रुपमा समेत प्रचार गर्दै आईरहेका छन् । यस्तै प्रचारका कारण मिथिलाको लोक परम्परा झिझिया नृत्य लोप हुँदै गईरहेको छ । यद्यपि मैथिलीका बरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले झिझिया नृत्य अन्धविश्वास नभई यस भित्र गहिरो दर्शन लुकेको बताउनु हुन्छ ।
झिझिया लोकनृत्य महोत्तरी लगायत धनुषा, सिरहा, सर्लाही, बारा, पर्सा सहितका जिल्लामा गरिने गरिन्छ । त्यस्तै भारतीय मिथिला क्षेत्रमा यो लोकनृत्य गर्ने गरिन्छ । झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट शुरु भएको मानिन्छ ।
वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको संस्कृतिविदहरुको भनाई छ । छैटौं शताब्दीदेखि ११औं शताब्दीसम्मको बिचमा तन्त्र शक्ति हावी भएको बेलादेखि झिझियाको प्रारम्भ भएको जनविश्वास छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij