२०८२, आश्विन १० गते

Sep 26 2025 | २०८२, आश्विन १० गते

५० प्रतिशतले घट्यो चिउराको माग

शुक्रवार , आश्विन १०, २०८२

  • 442
    Shares
  • 442
    Shares
  • भक्तपुर, ९ असोज । भक्तपुरका चिउरा व्यवसायीले यस वर्ष विगतको वर्षमा भन्दा ५० प्रतिशतले चिउराको माग घटेको बताएका छन् ।

    जेन जी पुस्ताको आन्दोलनको प्रभाव, पैसा बजारमा नहुनुले पनि चिउराको मागमा कमी आएको हुनसक्ने व्यवसायीहरुको अनुमान छ । परम्परागत परिकारको रूपमा चिउराले दशैँमा विशिष्ट स्थान ओगट्दै आएको छ ।

    यसलाई धार्मिक, सांस्कृतिक र पारिवारिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । चिउरा व्यवसायी दिनेशप्रसाद काफ्लले बजारमा करिव ५० प्रतिशतले माग घटेको बताउनु भयो । भदौ २३ र २४ गते भएको जेन—जी पुस्ताको आन्दोलनका कारण माग घटेको हुनसक्ने उहाँले बताउनु भयो ।

    उत्पादन स्थलमा अर्थात चिउरा मिलहरूमा भने विक्रीमा तुलनात्मक रूपमा वृद्धि भएको व्यवसायी काफ्लेको भनाई छ । व्यवसायी काफ्ले स्थानीय उपभोक्ताहरू सिधै मिलमै पुगेर चिउरा किन्ने प्रवृत्ति बढेको बताउनु भयो । 

    उहाँले भन्नुभयो ‘मार्केटमा माग अलिकति घटेको छ । अस्तीको जुन परिस्थतिले गर्दा पनि होला । तपाईंको जुन जेन—जी आन्दोलनले भयो नि त्यसले गर्दा पनि मार्केटमा माग अलि कम कटिराखेको छ ।

    अनि हामीले जुन मार्टमा दिन्थ्यौँ त्यो मार्टमा चाहीँ लगभग लगभग ५० प्रतिशत नै कम छ । अनि स्थानीयहरुले चाहीँ मिलको चिउरा राम्रो भनेर धेरै जसो स्थानीयले चाहीँ मिलमै किन्नुहुन्छ । त्यो कारणले पनि होला मार्केटमा भन्दा मिलमा अलि बढी व्यापार छ ।’

    दशैँ लगायत चाडपर्वका लागि ताजा, राम्रो चिउराको लिन मिलमै आउने गरेको ग्राहक रामशरण ढकालले बताउनु भयो । बाहीर पसलमा भन्दा गुणस्तरीय चिउरा मिलमा पाउने भएकाले प्रत्येक वर्ष जस्तौ यो वर्ष पनि मिलमा आएको उहाँले बताउनु भयो ।

    पसलमा पाइने चिउरा प्रायः धेरै दिनसम्म स्टोरमा राखिएको, कहिलेकाहीँ नमीठो र फिक्का हुने गरेको अनुभव सुनाउँदै उहाँले मिलमा बनेको ताजा चिउरा आफ्नो र परिवारको रोजाइको पहिलो नम्बरमा पर्ने बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘यहाँको ताजा एकदमै राम्रो चिउराको लागि वर्षेनी यो मिलमा आउने गरेको छु ।’

    मिलको चिउरामा मिसावट नहुने भएकाले आफू पहिलेदेखि नै मिलमा चिउरा लिन आउने गरेको अर्का उपभोक्ता कमलप्रकाश वनले बताउनु भयो ।

    त्यसैगरी, मूल्यको विषयमा पनि उहाँले आफ्ना धारणा राख्दै बजारमा पाइने चिउराको तुलनामा मिलमा पाइने चिउराको मूल्य निकै सस्तो हुनुका साथै गुणस्तरमा पनि उच्च रहेकोले उपभोक्तालाई आर्थिक रूपमा समेत सहज हुने गरेको उहाँले बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘यहाँ चिउरा एकदमै राम्रो चिउरा पाउछ र मिसावट पाउँदैन । प्राइस पनि अहिलेको हिसावमा राम्रौ छ ।’

    पकाउन नपर्ने, सजिलै भण्डारण गर्न मिल्ने भएकाले विशेषगरी शहरमा चिउराको खपत उच्च हुन्छ । दशैँ तिहार जस्तो चाडपर्वमा मासु, तरकारी, दही, दुध वा केरा जस्ता परिकारसँग चिउरा खाने चलन छ ।