
शुक्रवार , आश्विन १०, २०८२
भैरहवा, १० असोज । रुपन्देहीको भैरहवामा विश्व फार्मासिस्ट दिवस मनाइएको छ । नेपाल फार्मास्युटिकल्स एशोसिएसन (एनपीए) लुम्बिनी प्रदेशको आयोजनामा बिहीबार भैरहवास्थित बुद्धचोकमा विश्व फार्मासिस्ट दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ ।
‘Think Health, Think Pharmacist’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रबाट करिब ६० जना फार्मासिस्टहरूको उपस्थिति थियो । कार्यक्रममा प्रमुख वक्ताहरु वरिष्ठ फार्मासिस्ट नबिन शर्मा, विष्णु अर्याल र एनपीए लुम्बिनी प्रदेशका अध्यक्ष भोजराज बस्यालले मन्तव्य राख्नुभएको थियो । वक्ताहरूले फार्मेसी पेशामा नीहित सामाजिक उत्तरदायित्व, स्वास्थ्य सेवा प्रणालीमा फार्मासिस्टहरूको अभिन्न योगदान, र व्यवसायिक नैतिकताको आवश्यकता लगायतका विषयमा प्रकाश पार्नुभयो ।
कार्यक्रममा फार्मासिस्टहरूको पेशागत विकास, आपसी सहकार्य र जनस्वास्थ्यमा उनीहरूको भूमिकालाई अझ सशक्त बनाउने उद्देश्यसहित विभिन्न विचारहरू आदानप्रदान गरिएको थियो । सहभागीहरूले फार्मेसी पेशालाई अगाडि बढाउन संयुक्त पहल आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रमको समापन फार्मासिस्टहरूको सामाजिक योगदानको सम्मान गर्दै र भविष्यमा अझ सशक्त र संगठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै गरिएको थियो । एनपीए लुम्बिनी प्रदेशका सचिव सचिन अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जेनजी आन्दोलनमा क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij