
बुधवार , आश्विन ८, २०८२
काठमाडौं, ८ असोज । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले दुई–राज्य समाधान सम्बन्धी संयुक्त राष्ट्रसंघको बैठकमा फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघका अन्य धेरैजसो सदस्य राष्ट्रहरूसँग फ्रान्स पनि सामेल भएको छ । फ्रान्स र साउदी अरेबियाको सह–अध्यक्षतामा प्यालेस्टाइनको प्रश्नको शान्तिपूर्ण समाधान र दुई–राज्य समाधानको कार्यान्वयनको लागि उच्च–स्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा म्याक्रोनले फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएको घोषणा गर्नुभयो ।
बैठकमा माल्टा, मोनाको र लक्जमबर्गले पनि आफ्नो मान्यताको घोषणा गरेपछि प्यालेस्टाइन राज्यलाई मान्यता दिने देशहरूको संख्या १५० भन्दा बढी पुगेको छ । आईतवार, बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले दुई–राज्य समाधानको लागि जोड दिन प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिएका छन् ।
८० औं संयुक्त राष्ट्र महासभा सत्रकी अध्यक्ष अन्नालेना बेरबकले दशक लामो इजरायली–प्यालेस्टाइन द्वन्द्वलाई अनन्त युद्ध, स्थायी कब्जा र बारम्बार आतंकबाट समाधान गर्न नसकिने र प्यालेस्टिनी र इजरायली दुवैका भावी पुस्ताले शान्ति, सुरक्षा र सम्मानमा बाँच्नसक्ने कुरा सुनिश्चित गर्ने एक मात्र तरिका दुई–राज्य समाधान हो भन्ने कुरामा जोड दिनुभयो ।
महासभाले गाजामा तत्काल, बिना शर्त र स्थायी युद्धविराम हुनुपर्ने माग राखेको छ । इजरायलले तुरुन्तै सबै प्यालेस्टिनी नागरिकहरूलाई पूर्ण, द्रुत, सुरक्षित र अवरोध बिना मानवीय सहायताको प्रवेश र वितरणलाई सहज बनाउनुपर्ने भनेको छ । हमासले बाँकी रहेका सबै वन्धकहरूलाई तुरुन्तै र बिना शर्त रिहा गर्नुपर्ने बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij