
शनिवार , आश्विन ४, २०८२
काठमाडौं, ४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले नेपालको संविधान पुनर्लेखन गर्नुपर्ने बताउनुभएको छ । उहाँले २०७२ असोज ३ मा जारी हुँदै खेरी यो संविधान अपुरो र अधुरो रहेको भन्दै संविधान पुनर्लेखन गरेरै मुलुकलाई निकास दिनुपर्ने बताउनुभयो ।
बस्नेतले भन्नुभयो, ‘मुलुकमा विद्यमान संकटको मूल जड संविधान हो । मुलुकमा अपनाइएको शासकीय स्वरुप, निर्वाचन प्रणालीबाट सुशासन र स्थिरताको परिकल्पना गर्न सकिदैन । कांग्रेस र कम्युनिष्ट शासनले संविधानको उच्चतम विकृत रुपलाई सबैका सामू उजागर गरिसकेको छ । यसबारे थप व्याख्या र पुष्टि आवश्यक छैन ।’
संविधानलाई जनपक्षीय र सर्वस्वीकार्य बनाउन माग गर्दै आन्दोलनमा उत्रिदा आफू प्रहरी हिरासतमा पुगेको आजको दिनको स्मरण गर्दै बस्नेतले कुनै भूगोल, समुदाय र क्षेत्रलाई बहिष्करणमा पारेर मुलुकले स्थिरता र समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।
सबैले अपनत्व महसुस गर्ने खालको संविधान बन्न सके मात्र राष्ट्रिय एकता बलियो बन्ने उहाँको दावी छ । जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्न पनि संविधान संशोधन अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij