
शुक्रवार , आश्विन ३, २०८२
काठमाडौं, ३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) फरक धातुले बनेका मान्छेहरुको पार्टी भएको बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा शुक्रवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले माओवादी केन्द्रले बीचमा थुप्रै कमी कमजोरी गरेको भएपनि आत्मसमीक्षा गरेको र माओवादी केन्द्र फरक चिज भएको बताउनु भयो । अरु जस्तै हो भनेर साम्रज्यवादी र प्रतिक्रियावादीले भाष्य बनाउन खोजेको भएपनि त्यो सत्य नभएको बताउनु भयो ।
जनभावना कसरी सम्बोधन गर्ने भन्नेमा नेतृत्व सजग रहेको बताउँदै जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहेको बताउनु भयो । अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो र्को सकिने बताउनु भयो ।
कोही पनि निराश हुनुपर्ने जरुरी नरहेको भन्दै उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गर्न लाग्न आह्वान गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले भएका क्षति र घटनाक्रमबाट शिक्षा लिएर आउने दिनमा अझ राम्रो बनाउने गोरेटो कोर्नसक्छौँ । हामी कोही निराश हुन जरुरी छैन ।
हामी उच्च मनोबलका साथ क्षतिग्रस्त संरचनाको पुनःनिर्माण पनि गर्ने, संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी पनि गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत पनि गर्ने आवश्यकता यति बेलाको हामी सबैको आवश्यकता हो ।
कम्तिमा पनि इतिहासको, वर्तमानको पनि समीक्षा गरेर हेर्न र माओवादी केन्द्र बीचमा थुप्रै कमी कमजोरी भएका छन् भनेर आत्मसमीक्षा गरेका छौँ । माओवादी केन्द्र फरक चिज हो, यो फरक धातुले बनेका मान्छेहरुको पार्टी हो । अरु जस्तै हो भनेर जो भाष्य साम्रज्यवादी र प्रतिक्रियावादीले बनाउन खोजेका छन्, त्यो होइन ।
त्यो होइन भनेर हामी सबैले उद्घोष गर्न सक्नुपर्छ । बाँकी के गरी सम्बोधन गर्ने जनभावना भन्नेकुरा नेतृत्व तपाईं हामीलाई थाहा छ, निरन्तरतामा क्रमभंगता भन्ने गरिएको छ । फेरि पनि जस्तोसुकै क्रमभंग गर्न पनि नेतृत्व तयार रहन्छ ।’
अध्यक्ष दाहालले संविधानमार्फत स्थायित्व र विकासका निम्ति नयाँ संशोधनको तयारी गर्ने र निर्वाचनको वातावरण बनाउन मेहनत गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij