२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

‘जेन–जीको मागअनुसार बन्ने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ’ : मुख्यसचिव अर्याल

शुक्रवार , भाद्र २७, २०८२

  • 427
    Shares
  • 427
    Shares
  • काठमाडाैं, २७ भदाै । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताउनुभएको छ ।

    शुक्रवार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताउनुभएको हो ।

    अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताउनु भयो । राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको उहाँको भनाइ छ ।

    उहाँले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि बताउनु भयो । उहाँले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै  पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरु अनलाइनबाट सुरु गरिसकेका छौं । अत्यावश्यक आवश्यक सेवाहरु  खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरुको लागि पनि हामीले तद्तद् निकायहरुलाई निर्देशन दिइसकेका छौं ।

    हिजो र अस्ति मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ । सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ । र सुरक्षास्थिति सामान्यउन्मुख छ । अब जेनजी पुस्ताको मागहरुअनुसार सरकार बनोस् ।

    नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत हुने सेवाका सम्बन्धमा आज निरिक्षणपछि छलफल पनि गर्यौं । कति क्षति भएको छ त्यसको आँकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरु भइरहेको छ । त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं ।

    सरकार सञ्चालनको विषयम आएको सबै हल्ला हो । सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ त्यो अनुसारको व्यवस्थापन हामी   गर्छौं। अभिलेखको क्षति कल्पना समेत गर्न सकिदैन । पूर्वाधार र सवारीको क्षतिबारे प्राविकि रुपमा आँकलन गर्छौं ।’

    उहाँले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको पनि बताउनु भयो ।