२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

चौतर्फी आलोचनापछि भावुक हुँदै के लेखे लेखजंगले ?

मंगलवार , भाद्र १७, २०८२

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा । रूपन्देही- ३ मा ९६ वर्षकी मेरी‌ बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो । सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला । म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु ।

    खै जिन्दगी सोँचे जस्तै कहाँ हुन्छ‌ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरूलाई उत्तर दिदैछु ।

    प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण । म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला । तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन, यो बेथिति र विसङ्गतिमा रमाउनेहरूबाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो । त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ ।

    आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू, एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन् । व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ । परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो ।

    मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ ।

    एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन । दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन् । तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

    न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु । यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु ।

    सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन । सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो ? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु । त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ । पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ । देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ । मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो । विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन, तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।

    म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ । त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेर ? रुपन्देही -३ को उम्मेदवार त पुनम, जेबी, रचना, सुलभ,  ज्ञानु,  मधु, पार्थिवेन्द्र,  कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो । अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु । तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ, यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ ।

    म त्यही यात्रामा अगाडि बढेको छु । रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ । नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको 'उम्मेदवार छनोट विधि' अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌ । तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत, स्वीकार र पालना गर्नेछु ।