२०८२, श्रावण ४ गते

Jul 20 2025 | २०८२, श्रावण ४ गते

बेमौसमी फूलखेतीमा रमाउँदै तिलोत्तमाका महिला

बिहिवार , बैशाख २, २०७८

तिलोत्तमा, २ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ नयाँमिलका महिलाहरु व्यवसायिक पुष्प खेतीमा लागेका छन् । व्यवसायिक रुपमा पुष्प खेतीमा लागेका महिलाहरुले तिहारमा पहिलो पटक सयपत्री फुलबाट मनग्य आम्दानी गरेपछि हौसिएका उनीहरु अहिले बमौसमी पुष्प खेतीमा जुटेका छन् ।

७ जना महिला मिलेर पुष्प खेतीमा जुटेका हुन् । अहिले बमौसमी फुल खेतीबाट पनि राम्रोसंग आम्दानी हुन थालेपछि महिलाहरु हौसिएका छन् । महिलाहरुले तिलोत्तमा देउराली पुष्प समूह गठन गरेर गत वर्षदेखि व्यवसायिक फूल खेती गर्न थालेका हुन् । ‘गत वर्ष साढे ३ कठ्ठा जग्गामा भएको फूल खेतीबाट साढे पाँच लाख आम्दानी भएको समूहकी अध्यक्ष सीता पाठकले बताइन् । 
पुष्प खेतीबाट राम्रो आम्दानी भएपछि उनीहरुले अहिले साढे ३ कठ्ठा जग्गाबाट बढाएर अहिले १० कठ्ठा जग्गा लिजमा लिएर व्यवसायिक खेती गर्न थालेका छन् । अध्यक्ष पाठकका अनुसार पुष्प व्यवसायलाई व्यवसायीकरण गर्नका लागि १० लाख रुपैयाँ लगानी गरिसकेका छन् । अहिले उनीहरुको बारीमा बेमौसमी सयपत्री फूल ढकमक्क फुलिरहेको छ । समूहका महिलाहरुलाई अहिले रुपन्देहीमा हुने विभिन्न सभा समारोहमा फूलको माला पुर्याउन भ्याइनभ्याई छ । 

अघिल्लो वर्ष सिजनकै बेला फूल खेती गरेर राम्रै आम्दानी भएको थियो, यसपटक पनि बेमौसमी फूल रोपेको तीन महिना नपुग्दै थुप्रै माला विक्री भइसकेका छन्’–पाठकले भनिन् । यसले महिलालाई उद्यम बनाउन टेवा पुर्याएको छ । उनीहरुले प्रतिमाला १२० रुपैयाँ मूल्य निर्धारण गरेका छन् ।

‘सयपत्री फूल दशैं तिहारमा मात्रै नभई पूजाआजा, कार्यक्रम, विवाह ब्रतबन्ध जस्ता विभिन्न कार्यक्रमको लागि सधैं आवश्यक पर्छ । तर, हामीकहाँ व्यवसायिक फूलखेती गर्नेहरु निकै कम छन्, चाहिएको बेला फुल खोज्नका लागि भारत तर्फ दौडिनुपर्छ समुहकी सदस्य चम्पा पाण्डेयले भनिन् अब भने भारत जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने गरी पुष्प व्यवसायमा लाग्दैछौ ।’
उनका अनुसार रोपेको समयदेखि एक सय २० दिनमा सयपत्री तयार हुन्छ । ‘कोरोनाले निम्त्याएको लकडाउनले भने फूलखेतीलाई केही नोक्सान पुर्यायो, त्यो बेला पनि बेमौसमी फूल उत्पादन भएको थियो, तर बजार नै नभएपछि समस्या भयो’–उनले भनिन् । बेमौसमी फूल खेती गर्दा विवाह, पूजा, ठूलाठूला कार्यक्रम आदिमा स्थानीय फूल खपत हुन सक्ने उनले बताइन् । ‘सम्भावना एकदमै राम्रो छ, आत्तिनुपर्ने अवस्था छ’–पाण्डेयले भनिन्।

गुणस्तरीय फूल उत्पादन भएमा बजारको समस्या नरहेको पनि उनले बताइन् । सम्बन्धित निकायबाट माटो परीक्षण, अनुगमन लगायतमा ध्यान दिने हो भने प्रदेशलाई फूलमा आत्मनिर्भर बनाउन सकिने उनको भनाइ छ । 

फूलको व्यवसायिक खेती गर्ने किसानलाई अनुदान, कृषि उपकरण सहयोग गर्न थालेपछि महिलाहरु उत्साहित बनेका छन् । तर उनीहरुले आर्थिक अनुदान भने प्राप्त गरेका छैनन् । व्यवसायिक फूल खेतीका लागि तिलोत्तमा नगरपालिकाले दुईवटा पानी ट्यांकी, ६ वटा गार्डेन पाइप, स्प्रे मेसिन, बिरुवा रोप्ने मेसिन र हाते ट्याक्टर उपलब्ध गराएको तिलोत्तमा–१ का वडाअध्यक्ष तामानाथ पाण्डेयले बताए । 

तिलोत्तमा नगरपालिकाले नगरलाई फूलमा आत्मनिर्भर बनाउने नीति बनाइरहँदा यसका लागि कोल्ड स्टोर निर्माण जरुरी रहेको पनि उनको भनाइ छ ।