२०८२, मंसिर ६ गते

Nov 22 2025 | २०८२, मंसिर ६ गते

लुम्बिनी विकास कोषको सदस्य सचिव नियुक्तिप्रति ‘लुम्बिनी बचाउ महाअभियान’ को आपत्ति

शनिवार , मंसिर ६, २०८२

  • 235
    Shares
  • 235
    Shares
  • लुम्बिनी, ६ मंसिर । लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा गोरखाका दीपक श्रेष्ठको नियुक्तिप्रति लुम्बिनी क्षेत्रका स्थानीयबासिन्दाले आपत्ति जनाउँदै तत्काल बर्खास्त गर्न माग गरेका छन् । ’लुम्बिनी बचाउ महाअभियान’ ले सामाजिक सञ्जाल फेसबुक स्ट्याटससमार्फत नेपाल सरकारलाई कडा कदम चाल्न बाध्य नपारियोस् भन्दै चेतावनी दिएको छ ।

    महाअभियानले गोरखा जिल्लाको शहीद लखन गाउँपालिका हाल काठमाडौं निवासी श्रेष्ठलाई विकास कोषको सदस्य सचिवको पदमा कुनै पनि हालतमा मान्य नहुने स्पष्ट पारेको छ । सरकारले नवनियुक्त सदस्य सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गरी सो पदमा स्थानीय व्यक्तिलाई नियुक्त गर्नुपर्ने माग राखेको छ । स्थानीयलाई नियुक्त नगरे कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ ।

    ‘भ्रष्टाचारविरूद्धको आन्दोलनको जगमा बनेको सुशिला सरकारसित यस्तो कार्यको अपेक्षा बृहत्तर लुम्बिनीबासीलाई थिएन,’ महाअभियानले भनेको छ। विश्व शान्तिको केन्द्र लुम्बिनीमा भाषा, भूगोल र संस्कृति नबुझेका व्यक्ति पठाएर सरकारले ‘भ्रष्टाचारको खेलोको गन्ध पस्केको’ आफ्नो बुझाइ रहेको महाअभियानले जनाएको छ ।

    लुम्बिनी बचाउ महाअभियानका सह–संयोजक राम विकास चौधरीको फेसबुक वालमा पोष्ट गरिएको यस स्ट्याटसले सरकारको पछिल्लो नियुक्ति निर्णयप्रति स्थानीयको तीव्र असन्तुष्टि बाहिर ल्याएको हा् । यस स्ट्याटसले ऐतिहासिक र धार्मिक महत्वको स्थानमा पारदर्शिता र स्थानीय सरोकारको सम्मान गर्न सरकारलाई दबाब दिएको स्थानीय बताउँछन् ।