२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान

आइतवार , भाद्र ८, २०८२

  • 430
    Shares
  • 430
    Shares
  • भैरहवा, ८ भदौ । नेपाल बालसाहित्य समाज (नेबासास)ले जयपृथ्वीबहादुर सिंहको १४९ औं जन्मजयन्तीका अवसरमा सर्जकहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रम प्राज्ञ विज्ञान लेखक तीर्थबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नेबासासका अध्यक्ष विजयराज आचार्यको सभापतित्व तथा प्रा.डा. विष्णुबहादुर केसीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    कार्यक्रममा जयपृथ्वी बालकला पुरस्कार २०८१ बालिका कल्पना विष्टले र जयपृथ्वी बालकला लेखक पुरस्कार २०८१ बालिका अनुभूति बुढा मगरले प्राप्त गर्नुभयो । त्यस्तै बाल कथासंग्रह बन्द कोठाका लागि बालिका अवानी खड्का समेत सम्मानित हुनुभएको थियो । नेबासास जयपृथ्वी सम्मान २०८१ बाट डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित हुनुभएको छ ।

    नेबासास कविशिरोमणि लेखनाथ पौड्याल सम्मान २०८२ बाट रामबहादुर पहाडी, नेबासास महाकवि लक्ष्मीप्रसाद देवकोटा सम्मान २०८२ बाट प्रा. डा. महादेव अवस्थी, नेबासास युगकवि सिद्धिचरण श्रेष्ठ सम्मान २०८२ बाट इन्दिरा दली र नेबासास राष्ट्रकवि माधव घिमिरे सम्मान २०८२ बाट कालीबहादुर शाही सम्मानित हुनुभएको छ ।

    त्यस्तै कुलमानसिंह भण्डारी सम्मान २०८२ बाट के. के कर्माचार्य, रमेश विकल सम्मान २०८२ बाट बुँद राना, युद्धप्रसाद मिश्र सम्मान २०८२ बाट प्रा. डा. मुकेशकुमार चालिसे, बालसाहित्य रत्न शान्तदास मानन्धर सम्मान २०८२ बाट गौरी प्रधान, देवकुमारी थापा सम्मान २०८२ बाट सुशीला प्रधानाङ्ग सम्मानित हुनुभएको छ ।

    कार्यक्रममा नेबासासबाट प्रकाशित दुई कृति नेबासास प्रतिनिधि नेपाली कवितासंग्रह, नेबासास बालस्रष्टाका कथाहरु, इन्टरनेसनल स्कुल, धुम्बाराहीबाट प्रकाशित दुई कृति ः कथाकल्प १ र २, बालबाटिका स्कुल, पेप्सीकोलाबाट प्रकाशित दुई कृति अवनी खड्काको बन्द ढोका र सामूहिक संग्रह मेहनती परिवार र क्रिएटिभ सेन्टरबाट प्रकाशित क्रिएटिभ कथाहरुको लोकार्पण गरिएको थियो ।

    कार्यक्रममा सम्मानित सर्जकहरुबारे डा. छायाँदत्त न्यौपानेले र  र कृतिहरुबारे प्रमोद प्रधानले प्रकाश पार्नुभएको थियो । साथै कार्यक्रममा नेबासास र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा २०८१ माघमा भएको प्रतियोगिता भाग लिइ पुस्तक ’नेबासास बालसष्ट्राका कथा पुस्तकमा समावेश बालबालिकालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

    सिविन नेपाल र पहिलो पाइला अमेरिका समेत आयोजक रहेका थिए ।