२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

करोडौँ चन्दा दिन तयार हुने पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने ? : सांसद लिम्बू

बिहिवार , भाद्र ५, २०८२

  • 616
    Shares
  • 616
    Shares
  • काठमाडौं, ५ भदौ । नेपाली काँग्रेसका सांसद डिगबहादुर लिम्बूले करोडौँ रुपैयाँ चन्दा दिन तयार हुने निजी क्षेत्र पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउनुपर्छ भन्दा खुट्टा कमाउने कुरा राम्रो नभएको बताउनुभएको छ ।

    बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बुधवार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल भएको हो । उहाँले अहिले आएको विद्यालय शिक्षा विधेयक प्रगतिशिल रहेको बताउनु भयो ।

    उहाँले यसमा कोकोहोला गरिरहन जरुरी नरहेको बताउनु भयो । उहाँले सरकार निजी विद्यालयको घाँटी समात्ने गरी अघि नबढेको स्पष्ट पार्नुभयो । नेताहरु एउटै निर्णयमा अडग रहन नसक्दा पनि समस्या आइरहेको उहाँको भनाइ छ ।  

    उहाँले भन्नुभयो, ‘यो विधेयक प्रगतिशिल छ । शिक्षक साथीहरुले जुन ढंगको कोकोहोला गरिरहनुभएको छ, कतिले कुनै नेतालाई घेरेका छन्, अर्कोले अर्को नेतालाई घेरेका छन् । नेताहरु अडिन नसकेको कारणले पनि यो समस्या खडा भएको छ । एउटा ग्रुप गएर टिचलाई खबरदार भन्यो । नेता लगलग काम्छन् ।

    अर्को नेताकोमा गयो, अर्को पनि लगलग काम्छ । अडिँदै अडिँदैनन् । हामीले नेतालाई भनिसकेका छौँ, मन्त्रीज्यु गर्नुपर्यो भनेपछि मन्त्री पनि लगलग । खुट्टा नकमाइकन हामीले यो काम गर्नुपर्छ । निजी क्षेत्रको साथीहरुलाई विश्वासमा लिएर उत्तरदायी बनाएर जानेकुरामा  छौँ ।

    उहाँहरुको घाँटी समात्ने प्रक्रियामा छैनौँ । महंगी बढेको अवस्था छ । आवश्यकता दिनका दिन बढ्दै गएको छ । शुल्क बढाएकै अवस्था छ । त्यत्रो ठूलो आत्तिहाल्नैपर्ने अवस्था होइन । चन्दा दिने बेलामा करोडौँ दिन तयार हुने निजी क्षेत्रका साथीहरु हामीलाई थाहा छ, पाँच जना विद्यार्थीलाई निःशुल्क पढाउने कुरामा खुट्टै कमाउनुपर्छ भन्नेकुरा होइन नि ।’

    सांसद लिम्बूले निजी क्षेत्रलाई विश्वासमा लिएर उत्तरदायी बनाउने कुरामा सरकारले काम गरिरहेको बताउनु भयो ।