२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

भारत भ्रमणमा जाँदा गौतमबुद्ध विमानस्थल प्रयोग गर्न प्रधानमन्त्री ओलीलाई आग्रह

बुधवार , भाद्र ४, २०८२

  • 921
    Shares
  • 921
    Shares
  • भैरहवा, ४ भदौ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँको संयोजकत्वमा गठित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओली आसन्न भारत भ्रमणमा जाँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रस्थान गर्न आग्रहसहितको पत्र पठाएको छ ।

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएकोले यो विमानस्थललाई दिगो रुपमा सञ्चालनका लागि सरकारलाई दबाब दिन नगरप्रमुख खाँको संयोजकत्वमा गठित समितिको मंगलबार सम्पन्न बैठकले उक्त निर्णय गर्दै प्रधानमन्त्रीसमक्ष पत्र पठाएको हो ।

    अरबौंको लगानीमा निर्माण भएको राष्ट्रको गौरवको रुपमा रहेको रुपान्तरणकारी आयोजनालाई नेपाल सरकारले अनिवार्य रुपमा सञ्चालन गर्नका लागि सरकारलाई दबाब दिने र प्रधानमन्त्रीले भैरहवा हुँदै नयाँ दिल्ली (भारत) प्रस्थान गर्दा आम नागरिकमा सकारात्मक सन्देश जाने भएकाले उक्त आग्रह गरिएको नगरप्रमुख खाँले बताउनुभयो । त्यस्तै विमानस्थल नियमित सञ्चालनका लागि निर्माण भएको संघर्ष समितिमा रुपन्देहीका स्थानीय पालिकाहरुको प्रमुख तथा अध्यक्षलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।

    प्रधानमन्त्रीको भारत भ्रमण हुनु अगावै विमानस्थल सञ्चालन संघर्ष समितिका सबै सदस्यहरु ज्ञापनपत्र बुझाउनका लागि काठमाडौं जाने निर्णय भएको नगरप्रमुख खाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीसँगको भेटघाटपश्चात सबै क्षेत्र, पक्षलाई समेटेर बृहत भेला गर्ने र सोही भेलाबाट समिति समेत विस्तार गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

    ‘गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा निर्माण भएका गुम्बाहरुसँग सम्बन्धित राष्ट्रका राजदूतहरुसँग समेत बृहत छलफल गरी विमानस्थल सञ्चालनका लागि समन्वय गर्न अनुरोध गर्ने र विमानस्थलको कार्गो समेत सञ्चालनमा जोड दिने निर्णय गरिएको छ, ’नगरप्रमुख खाँले भन्नुभयो ।

    बैठकमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापा, प्रशासन महाशाखा प्रमुख एवं सूचना अधिकारी देव प्रसाद ज्ञवाली, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, सिद्धार्थ होटल संघ, नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, संघका पूर्वअध्यक्ष महेन्द्र कुमार श्रेष्ठ, चेम्बर अफ कमर्श रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, पत्रकारहरुलगायतले विमानस्थल नियमित सञ्चालन आवश्यक रहेकोमा जोड दिनुभयो ।