
मंगलवार , भाद्र ३, २०८२
बुटवल, २ भदौ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जिल्लामा सरुवा भइ आउनुभएका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेसहित प्रहरी प्रशासन तथा विभिन्न कार्यालयका नव आगन्तुक कार्यालय प्रमुखलाई स्वागत गरेको छ। संघले आइतबार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरी उनीहरुलाई स्वागत गर्नुको साथै उत्कृष्ट शैक्षिक संस्था र शैक्षिक संस्थाको नेतृत्वमा पुगेका व्यक्तिहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै बुटवल उपमहामनगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको सामाजिक, सांस्कृतिक, आर्थिक, व्यवसायिक तथा राजनीतिक विकासमा समेत बुटवल उद्योग वाणिज्य संघको उल्लेखनीय योगदान रहेको बताउनुभयो । उहाँले बुटवलको ऐतिहासिक महत्व बोकेको पारी बुटवलको विकास र प्रवद्र्धनका लागि नगरपालिकाले विशेष प्राथमिकता दिएको बताउँदै रात्रीकालिन बजार सञ्चालनमा जोड दिनुभयो ।
बुटवलको बजारलाई चलायमान बनाउनको लागि र बाह्य पर्यटकलाई आकर्षण गर्न रात्रीकालिन बजार अपरिहार्य रहेको बताउँदै उहाँले त्यसलाई पुरा गर्ने गरी सहयोगी बन्न व्यवसायिक संघ–संस्थाहरुलाई आग्रह गर्नुभयो । ‘रात्रीकालिन बजार सञ्चालनका लागि विभिन्न प्रकारका प्रयासहरु भएका छन्’, उहाँले भन्नुभयो–‘यो विषयलाई अहिले एउटा टुंगोमा पुर्याउनैपर्छ ।’ बुटवलको विकासको विरुद्धमा समेत केही मानसिकता देखिएको बताउँदै उहाँले जसका कारण काम गर्न समस्या भएको उल्लेख गर्नुभयो । उहाँले विकासका लागि सहकार्य गर्न पनि आग्रह गर्नुभयो ।
त्यस्तै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले समग्र जिल्लाको शान्ति सुरक्षा, विकास निर्माणकाकुरामा र व्यवसायिक वातावरण निर्माणमा कसैसंग कुनै प्रकारको सम्झौता हुन नसक्ने बताउनु भयो। उहाँले जिल्लामा खुला सिमा रहेका कारण सुरक्षा लगायतका अन्य प्रकारका चुनौती पनि रहेको स्मरण गर्दै त्यसको व्यवस्थापनमा कुनै प्रकारको कमजोरी नहुने भनाइ राख्नुभयो ।
आगामी कात्तिक १७ हुन लागेको रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन समेत रहेको स्मरण गर्दै उहाँले चुनावलाई समेत भयरहित वातावरण शान्तिपूर्वक सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारी कर्मचारीहरुलाई सेवाप्रतिपूर्ण जिम्मेवार बन्न आग्रह गर्दै बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको कार्यालय समयलाई कडाइका साथ पालना गर्न निर्देशन गर्नुभयो ।
रुपन्देही शिक्षा तथा स्वास्थ्यमा समेत छिमेकी जिल्लाहरुलाई सघाउने जिल्लाको रुपमा आफ्नो पहिचान बनाएको बताउँदै मुलुककै अग्रणी जिल्ला भएकाले यसका सम्भावना र चुनौतीहरु पनि उत्तिकै रहेको उहाँले भनाई राख्नुभयो ।
कार्यक्रममा स्वागत तथा सम्मान गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले मुलुकको औद्योगिक तथा व्यवसायिक वातावरण विग्रिएका कारण भएका उद्योगहरु तथा व्यापार व्यवसाय समेत बन्द हुने स्थितिमा पुगेको बताउनुभयो । उहाँले पलायन हुन खोजेका उद्योगी व्यवसायीलाई पुनस्थापित हुने वातावरण निर्माणमा सहयोगी बन्न नगरप्रमुख तथा प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । उहाँले झण्झटिला ऐन कानूनहरुलाई सुधार गर्न पनि आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवलको कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवन प्रसाद वझालाई संघमा सम्मान गरिएको हो । हालै उक्त विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित हुनु भएका वझा, बुटवलका सिद्धार्थ गौतमबुद्ध क्याम्पस सञ्चालक समितिको अध्यक्षमा निर्वाचित संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, बुटवल उद्योग वाणिज्य संघको नेतृत्वमा स्थापित बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेस्रोपटक विश्व विद्यालय अनुदान आयोगबाट क्यू.ए.ए. प्राप्त गर्न सफल भएकोमा उक्त क्याम्पसलाई पनि सम्मान गरिएको हो ।
त्यसै गरी पहिलो पटक क्यू.ए.ए. प्राप्त गरेको बुटवल कालिका क्याम्पसलाई पनि सम्मान गरिएको छ । लुम्बिनी वाणिज्य क्याम्पस सञ्चालक समिति अध्यक्ष तथा संघका पूर्वअध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ र क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायलाई सम्मान गरिएको हो भने बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
त्यसै गरी हालै सरुवा भइ रुपन्देही आउनुभएका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डे, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी बल २७ नं. गण
हेडक्वाटर रुपन्देहीका प्रहरी वरिष्ठ उपरीक्षक मेखराज जोशी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख, प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा, राष्ट्रिय अनुसन्धान विभाग उप
अनुसन्धान निर्देशक प्रकाश आचार्य र आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत हरि बस्याललाई स्वागत गरिएको हो ।
कार्यक्रममा लुम्बिनी वाणिज्य क्याम्पसका प्रमुख डा. ताराप्रसाद उपाध्याय, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेल, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले शुभकामनासहित भनाइ राख्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij