
सोमवार , भाद्र २, २०८२
काठमाडौं, २ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पुर्याएको नेपालको जैविक विविधता संकटमा रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा हिन्दुकुश हिमालय संसदीय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पु¥याएको बताउनु भयो ।
उहाँले अहिले नेपालसहित हिन्दुकुश हिमालय देशहरु संकटासन्न अवस्थामा रहेको भन्दै सबै मिलेर यसलाई पार लगाउनुपर्ने बताउनु भयो । उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सिमित नभइ दैनिक जीवनको कठोर यथार्थ बनेको जिकिर गर्नुभयो ।
हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसरका रुपमा आफूले सम्मेलनलाई लिएको विश्वास व्यक्त गर्नुभयो । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्याउनु आजको आवश्यकता भएको बताउनु भयो ।
उहाँले हिमालय क्षेत्रमा तापक्रम औषत भन्दा धेरै वृद्धि भएको बताउनु भयो । उहाँले नेपाल जैविक विविधताका दृष्टिले धनी रहेको उल्लेख गर्दै विश्वका दुर्लव वनस्पति र जनावरको बासस्थान नेपालमा रहेको बताउनु भयो । राष्ट्रपति पौडेलले भन्नुभयो, ‘हामी सबै संकटासन्न अवस्थामा छौँ ।
यसलाई सबैले मिलेर पार गर्नुछ । जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण अब केबल वैज्ञानिक प्रतिवेदनमा सिमित नभइ हाम्रो दैनिक जीवनको कठोर यथार्थ बनेका छन् । त्यसैले आजको यो बैठक हाम्रो साझा र दिगो भविष्यको रोडम्याप तयार गर्ने ऐतिहासिक अवसर हो ।
यो हिन्दुकश हिमालय क्षेत्रको भुगोल, हिमालय क्षेत्र, वन, नदी र वायुमण्डलको भविष्यबारे दृढ संकल्प जनाउने अवसर हो । जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभावको बारेमा मैले विश्व मञ्चमा विश्व समुदायलाई ध्यानाकर्षण गर्दै आएको छु । विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रि सेल्सियससम्म सिमित गर्न पेरिस सम्झौतामा गरिएको प्रतिवद्धता पूरा गर्न सम्बन्धित पक्षहरुले आफ्नो आफ्नो ठाउँबाट योगदान पुर्याउनु आजको आवश्यकता हो ।
हाम्रा यस क्षेत्रका हिमालबाट बग्ने नदीको पानी, वनबाट प्राप्त हुने अक्सिजन, कृषियोग्य भूमिको उर्वरताले यहाँका दुई अर्ब भन्दा बढी मानिसका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जीवनयापनमा योगदान पु¥याएको छ । तर आज यो जीवनयापनको आधार संकटमा छ ।’
राष्ट्रपति पौडेलले जैविक विविधता संरक्षणका लागि राष्ट्रिय निकुञ्ज र संरक्षित क्षेत्र विस्तार, वन्यजन्तु निगरानी प्रणालीको आधुनिकीकरण र स्थानीय समुदायसँगको सहकार्य प्रशंसनीय रहेको बताउनु भयो । वैज्ञानिक तथ्य र जनआवाजलाई आधार मानेर जलवायु जैविक विविधता र वायु प्रदुषणसम्बन्धी समय सापेक्ष, जनमुखी र कार्यान्वयनयोग्य नीति तर्जुमा गर्न जरुरी रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij