काठमाडौं, १ भदौ । सुनकोशी मरिन ड्राइभर्सन निर्माणमा लगानीको अभाव देखापर्न लागेको निर्माण कम्पनीका अधिकारीहरुले बताएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले गठन गरेको उपसमितिमा आईतवार सुनकोशी मरिन ड्राइभर्सनमा भइरहेको ढिलासुस्तीबारे भएको छलफलमा रमण कन्सट्रक्सनका प्रतिनिधिहरुले सुनकोशीसहित भेरी ड्राइभसनमा लगानीको अभाव हुन थालेको बताए । रमण कन्सट्रक्सनका प्रतिनिधि रमण पट्टेलले बैंकहरुले आफूले गरेका परियोजनाहरुमा बैंकहरुले लगानी रोक्न थालेको भन्दै अब आयोजनाहरु अघि बढाउन समस्या पर्ने बताउनु भयो ।
पट्टेलले भन्नुभयो– ‘सुनकोशी मरिण ड्राइभसन किन आज सुस्त गतिमा अघि बढेको भन्ने सन्दर्भमा धेरै समस्या छन् । मैले राष्ट्रिय गौरवका परियोजना लिएको छु । यो भन्दा अघि मैले ५० अर्ब भन्दा बढीको आयोजना सम्पन्न गरेको छु । आजसम्म मात्रै मैले प्रोजेक्ट फेल गरेर हात उठाएको छैन । करोडौं रुपैयाँ घाटा खाएर पनि हात उठाएको परिस्थिति छैन ।
घाटा नाफा हेर्दैनौं । कन्ट्रयाक्ट लिएका छौँ । लो बिल गरेरै लिएका छौं । ३२ प्रतिशत कममा ठेक्का लिएका छौं । मेरो कन्ट्रयाक्टको प्राइस र दोस्रो बिलोको प्राइज ३ अर्बको फरक थियो । अहिले बैंकहरुले फन्डिङ् रोकदिएको अवस्था छ । लगानी रोकेको अवस्थामा मेरो भेरी बबई आयोजनाको के अवस्था हुन्छ ? मेरा अन्य ३३ अर्बका प्रोजेक्टहरुको अवस्था के हुन्छ ? समाधान के ? ठेक्का तोडेर समाधान हुने अवस्था त छैन ।’
सुनकोशी मरिण ड्राइभर्सनमा प्राइम कमर्सियल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कुमारी बैंक, माछापुच्छ«े बैंक लगायतले लगानी गरिरहेका छन् । प्रभु बैंकका प्रतिनिधि पेशल दाहालले आयोजनाका बारेमा कामको प्रगतीका बारेमा आफूहरुले हेरिरहेको बताउनु भयो । आयोजनाको मोनिटरिङ गर्दै आगामी दिनका योजनाहरु समेत मागिरहेको बताउनु भयो ।
दाहालले भन्नुभयो–‘आवश्यक परेको बेलामा हामीले आयोजनास्थलमा गएर केकस्तो प्रगति हुँदैछ, हेरिरहेका छौं । आयोजना कसरी अघि बढाउनुहुन्छ, व्यवस्थापन कसरी गरिरहनुभएको छ त्यसबारे समेत सोधखोज गर्ने गरेका छौं । चार वटा बैंकबाट ५० करोड दिने निर्णय गरिसकेको अवस्था छ । तर बैंक ग्यारेन्टी क्लेमको अवस्था आएकाले लगानी गर्न अप्ठ्यारो पर्ने अवस्था आउँदैछ ।’
उहाँले आलोपालो भुक्तानी बेसमा रमन कन्स्ट्रक्सनले काम गर्नुपर्नेमा जोड दिनुभयो ।