
शनिवार , श्रावण ३१, २०८२
भैरहवा, ३१ साउन । नागरिक सरोकार मञ्च रुपन्देहीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीसँग शुक्रबार भेटघाट तथा छलफल गरेको छ । मञ्चका अध्यक्ष आनन्द प्रसाद गुप्ताको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पुगेको टोलीले नागरिक सरोकारका विविध विषयमा छलफल गरेको हो ।
छलफलमा अध्यक्ष गुप्ताले देशमा पर्याप्त मल नपाइने समस्या रहेकोले भारतबाट मल आयात गर्नुपर्ने बाध्यता कारण सीमा क्षेत्रमा किसानहरुले सास्ती खेप्नुपरेको बताउनुभयो । उहाँले किसानले सास्ती खेप्न नपर्ने गरी अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
मञ्चका प्रमुख सल्लाहकार गोविन्दराज पाण्डेले चाडपर्वको बेला खुला रूपमा मदिरा तथा मासुजन्य पदार्थको विक्रीवितरण हुने गरेकाले यसलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उपाध्यक्ष फूलपति कंडेलले बाउन्नकोटी सामुदायिक वनमा अवैध क्रियाकलाप हुने गरेको भन्दै निगरानी बढाइ नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो ।
छलफल कार्यक्रममा मञ्चका सल्लाहकार मनमोहन चौधरीले लुम्बिनी क्षेत्रबाट अबवध रूपमा गोरु तथा गाईको चोरी निकासी भइहेको जानकारी दिनुभयो । त्यसै गरी मञ्चका सह–सचिव अनन्तराज पाण्डेले तिलोत्तमा–१४ आसपासको क्षेत्रबाट नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको जानकारी गराउँदै उक्त कार्य रोक्न पहल गर्नुपर्ने ध्यानाकर्षण गराउनुभयो ।
मञ्चले ध्यानाकर्षण गराएका विषयहरुप्रति आफ्नो धारणा राख्दै एसपी क्षेत्रीले मञ्चले दिएको सुझावलाई मनन गर्ने बताउनुभयो । उहाँले नाकाबाट आउने एक–दुई बोरा मलखादलाई न रोकेको बताउनुभयो । उहाँले वास्तविक किसानको पहिचान गर्न स्थानीय तहले किसान कार्ड बनाएमा मलका लागि सहज वातावरण बन्ने बताउनुभयो ।
नदीजन्य पदार्थ र गाईगोरुको तस्करी तथा बाउन्नकोटी वनमा हुने अवैध क्रियाकलापको निगरानी बढाइ सो कार्यको नियन्त्रण गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छ्लफल कार्यक्रममा मञ्चका वरिष्ठ उपाध्यक्ष विकास रायमाझी, उपाध्यक्ष फूलपति कंडेल, सचिव उषा केसी, सह–सचिव अनन्तराज पाण्डे, सह–कोषाध्यक्ष केदार बरई, सदस्य इदुल निशा, जीवनप्रकाश उपाध्याय, पशुपति कान्दु, खेमराज ढकाल, गोविन्द प्रसाद भुर्तेल लगायतको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij