२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

‘रास्वपाबाट उम्मेदवारका आकांक्षी उपाध्यायले सञ्चार जगतमाथि गरेको टिप्पणी खेदजनक’

बुधवार , श्रावण २८, २०८२

भैरहवा, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता पार्थिवेन्द्र उपाध्यायले समग्र श्रमजीवी पत्रकारहरु र सञ्चार माध्यमहरुमाथि गम्भीर आक्षेप लगाउने गरी व्यक्त गरेको अभिव्यक्तिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले जनाएको छ । 

प्रदेश समितिका महासचिव पाण्डवप्रसाद शर्माले बुधबार विज्ञप्ती जारी गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारको आकाक्षीसमेत रहेका सिद्धार्थनगर–७ निवासी उपाध्यायले पत्रकारिता पेशा र सञ्चार जगतमाथि गरेको टिप्पणी अत्यन्तै खेदजनक, आपत्तिजनक र अमर्यादित रहेको बताउनुभयो ।

‘केही दिनअघि रास्वपाको केन्द्रीय कार्यालयमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यायले सिंगो मुलुकका पत्रकार र सञ्चारमाध्यमलाई बदनाम गर्ने उद्देश्यले तथ्यहीन, आधारहीन र लज्जास्पद अभिव्यक्ति दिएका छन् । उनले स्थानीय वा अन्य कुनै मिडियाको आवश्यकता नभएको, समाचार पढ्दा हाँसो उठ्ने र सम्पूर्ण पत्रकारहरु ५ हजार रुपैयाँमा विक्री हुने जस्ता गैरजिम्मेवार, अपमानजक र प्रेस स्वतन्त्रताविरोधी टिप्पणी गरेका छन् । यस्ता अभिव्यक्तिहरुले पत्रकारिता पेशाको मर्यादा र सञ्चारमाध्यमको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

यस्तो गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रुपमा माफी माग्न उपाध्यायसँग माग गरिएको छ । ‘यस्ता अमर्यादित व्यवहार प्रदर्शन गर्ने उपाध्यायमाथि तत्काल छानबीन गरी कडा कारवाही गर्न रास्वपालाई अनुरोध गदर्छौं । यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरुले लोकतान्त्रिक मूल्य–मान्यता, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुर्याउने भएकाले यस्ता कदमहरु रोक्न सम्बन्धित सबै पक्षलाई हामी अपील गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।