
बुधवार , श्रावण २८, २०८२
काठमाडौं, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताउनुभएको छ ।
बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । सरकारी तथ्याङ्ककै आधारमा हिसाव गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरु २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक हुने गरेको उहाँको भनाई छ । सरकारले गतवर्ष प्रतिकैदी ७९ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको थियो । देशभर हाल २७ हजार कैदीबन्दी रहेका छन् । मान्छे थुनेर राखेर दुई अर्व वार्षिक खर्च गर्नु भनेको ठूलो खर्च भएको सांसद गौतमको भनाई छ ।
उहाँले भन्नुभयो, ‘मैले सरकारले नै दिएको तथ्याङ्कलाई यसो हिसाब गरेर हेर्दा खेरि यहाँ के लेखिएको छ भने गतवर्ष भएको वास्तविक खर्चका आधारमा प्रतिकैदी वार्षिक लागत ७९ हजार १ सय ९८ रुपैयाँ भनेर लेख्नुभएको छ । यो जुन तथ्याङक छ, त्यसमा अहिले कति कैदीबन्दी छन् भनेर हिसाब गर्दाखेरी वार्षिक रुपमा हाम्रो खर्च यो तथ्याङ्कको आधारमा २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ हुँदो रहेछ । यो कैदीबन्दीलाई हामीले गर्ने खर्च, वार्षिक ।
यो ठुलो खर्च हो । दुई अर्ब भनेको त हामीले के के धेरै कुराहरु गर्न सकिन्थ्यो होला । दुई अर्ब रुपैयाँ हामीले कैदीबन्दीलाई उनीहरुको व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरुमा खर्च गर्नु । राज्यले यसरी थुनेर राख्दाखेरी गर्ने यो खर्च ठूलो हो । यसमा भवनको खर्च, प्रसासनिक खर्च झन कति आउँदो हो । बजेट छैन हामी भनिराख्छौ, एकातिर यो ठूलो खर्च छ, यो खर्चको व्यवस्थापन चाहीँ वैज्ञानिक हिसाबले गरिएन भने हामीले सधैभरी विलौना गरेर समस्याको समाधान हुन्छ त ? भन्ने पेचिलो प्रश्न हो ।’
उहाँले कैदीबन्दीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको बताउनुभयो । हालसम्म कैदीबन्दी लाई उत्पादनमा जोड्न नसकेको उल्लेख गर्नुहुँदै उहाँले केही कैदीबन्दीले गरेका उत्पादनले पनि बजार नपाएको बताउनु भयो । कैदीबन्दीलाई उत्पादनमा जोडेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्न राज्यले ध्यान दिनुपर्ने उहाँको भनाई छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij