
सोमवार , श्रावण २६, २०८२
भैरहवा, २६ साउन । रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर सिटी हस्पिटल भैरहवा र सुमित्रा मेमोरियल क्यान्सर हस्पिटल बेथरीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो । कार्यक्रममा ३५ यूनिट रगत संकलन भएको आयोजकले जनाएका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँले रक्तदान सबैभन्दा श्रेष्ठ दानमध्ये पर्ने बताउनुभयो । उहाँले मानिस जतिसुकै सम्पन्न भए पनि ज्यान बचाउन रगतको आवश्यकता रहने बताउनुभयो । ‘विशेष गरी तराईको ग्रामीण क्षेत्रमा रक्तदान गरेपछि शरीर कमजोर हुन्छ भन्ने सोच छ, यसलाई चिर्न जरुरी छ, ’उहाँले भन्नुभयो ।उहाँले विद्यालय, क्याम्पस तथा गाउँगाउँमा पुगेर रक्तदानको महत्वबारे बुझाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का निर्देशक तथा सुमित्रा मेमोरियल क्यान्सर हस्पिटलका संस्थापक अर्जुन पौडेलले भैरहवामा एक हप्ता अघि रक्तदान कार्यक्रम गरेको र त्यसमा ५१ यूनिट रगत संकलन भएको बताउनुभयो । उहाँले शहर भन्दा बाहिर कार्यक्रम गरौं भनेर बेथरीमा आयोजना गरिएको र यसले रक्तदानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । पौडेलले रगतको अभाव भएको बेला रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले बेथरीमा २ विगाहा जग्गामा सुमित्रा मेमोरियल क्यान्सर हस्पिटल निर्माण भइरहेको जानकारी दिनुभयो ।
मायादेवी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले समयसमयमा रक्तदान कार्यक्रम आयोजना गर्नुपर्ने बताउनुभयो । उहाँले रक्तदान गर्न डर मान्न नहुने बताउनुभयो ।
मायादेवी–६ का वडाअध्यक्ष अवधराज यादवले रक्तदान कार्र्यक्रम आयोजना गर्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय बेथरीका प्रमुख प्रहरी निरीक्षक सविता जि.सी.ले रक्तदानले मानिसको जीवन बचाउने बताउनुभयो । उहाँले बेथरीमा कार्यक्रम गर्ने आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।
अम्बे स्टील्सका महाप्रबन्धक शैलेन्द्र श्रेष्ठले स्वस्थ व्यक्तिले तीन–तीन महिनामा रक्तदान गर्न सक्ने बताउनुभयो ।
सिद्धार्थनगर सिटी हस्पिटलको मानव संशाधन प्रबन्धक विद्या गौतमले रक्तदान बिरामीको लागि मात्र नभइ रक्तदाताको स्वास्थ्यका लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले रक्तदान गर्दैमा शरीर कमजोर हुन्छ भन्ने बुझाइ गलत भएको बताउनुभयो । विनोद चालिसेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij