२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

समयमै योजना सम्पन्न गर्न साझा संकल्प चाहिन्छ : छविलाल विश्वकर्मा

सोमवार , श्रावण २६, २०८२

भैरहवा, २६ साउन । नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले समयमै योजना सम्पन्न गर्न सबैको साझा संकल्प र प्रतिवद्धता आवश्यक रहेकोमा जोड दिनुभएको छ । उहाँले समयमै छिनोफानो हुन नसक्दा योजना प्रभावकारी रुपमा सञ्चालन र सम्पन्न हुन नसक्ने बताउनुभयो ।

रुपन्देहीको रोहिणी गाउँपालिकामा आइतबार आयोजित संघीय योजना कार्यान्वयन सहजीकरण बैठकमा सचिव विश्वकर्माले यस्तो बताउनुभएको हो । उहाँले समयमै योजना प्रारम्भ र सम्पन्न गर्न समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले रोहिणी नदीको संरक्षणमा समेत जुट्नुपर्ने आवश्यकता रहेको औल्याउनुभयो । ‘गत आर्थिक वर्षदेखि आर्थिक वर्षको सुरुमा यस्ता बैठक गर्दै आएका छौं, यसले बजेटको प्रकृति, त्यो योजनासँग जोडिएका खानेपानी, विद्युतको अवस्था बुझ्न र त्यहाँ रहेका समस्याको समाधान गर्न मद्दत पुग्छ, ’उहाँले भन्नुभयो ।

पूर्वमन्त्री समेत रहनुभएका विश्वकर्माले इमान्दारिताका र जनताप्रति समर्पण भावका साथ काम गरिरहेको दावी गर्नुभयो । उहाँले धकधई–भगवानपुर सडकखण्डका लागि ३ करोड रुपैयाँ विनियोजन भएको जानकारी दिनुभयो ।

त्यस्तै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले विकासको काममा पछाडि नहट्ने दावी गर्नुभयो । उहाँले विकास निर्माण कार्यमा आउने अवरोध सबै मिलेर हटाइने बताउनुभयो ।

रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खाँले भगवानपुर नाकादेखि धकधई मुख्य रुपमा बढी आवतजावत हुने सडकखण्ड भएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले आर्थिक वर्ष सुरुवातसँगै आयोजना गरिने यस्ता बैठकले काम गर्ने क्रममा समस्या आउन नदिने बताउनुभयो ।

संघीय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीका इञ्जिनियर सुशिल रसाईलीले भगवानपुर–धकधई सडकखण्ड निर्माणका क्रममा आइपर्ने समस्या समाधानका लागि सबैको योगदान आवश्यक रहेको बताउनुभयो । नेकपा (एमाले) रुपन्देहीका जिल्ला सदस्य प्रदीप कुमार पाण्डेयले निर्माण कार्यमा भएका जटिलता फुकाउनुपर्ने बताउनुभयो ।

बैठकमा रोहिणी गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती हरिजन, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर बस्नेत, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य संजय कुमार गुप्ता, रुपन्देही क्षेत्र नम्बर १ का संयोजक वेद गिरी लगायतले बोल्नुभएको थियो ।