२०८२, श्रावण १९ गते

Aug 04 2025 | २०८२, श्रावण १९ गते

मर्चवारी–३ का वडाध्यक्ष यादवसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमवार , श्रावण १९, २०८२

भैरहवा, १९ साउन । रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाअध्यक्ष जनार्दन यादव र सिद्धार्थनगर नगरपालिका–९ का विपिन कुमार पाण्डेयविरुद्ध ३ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार आरोप–पत्र (मुद्दा) दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले दुवैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिनुभयो । आयोगका अनुसार वडाअध्यक्ष यादवले विभिन्न योजनाहरुको निर्माण कार्य सम्पन्नपश्चात भुक्तानी सिफारिस गर्न भन्दै सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस मागेका थिए ।

सो रकम भैरहवास्थित गणेश ट्रेडिङका सञ्चालकका छोरा विपिन पाण्डेमार्फत लिइसकेको अवस्थामा आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले २०८२ असार २३ मा दुवैजनालाई नियन्त्रणमा लिएको थियो । 

पाण्डेयले सेवाग्राहीबाट घुसवापत रु. ३ लाख रकम बुझेको देखिदा उनले मतियारको रुपमा संलग्न भइ भ्रष्टाचारजन्य कसुरमा सहकार्य, सहजीकरण तथा सघाउने कार्य पुष्टी भएकोले पाण्डेयविरुद्ध पनि भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।